काठमाण्डौ । चुक्तापूँजी वृद्धि भई अधिकांश बैंक तथा बित्तीय संस्थाहरुलाई प्रतिसेयर आम्दानीलाई नियन्त्रणमा राख्न धौ धौ परिरहेको बेला लुम्बिनी विकास बैंकले भने आशालाग्दो वित्तीय विवरण पस्किएको छ । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो विकास बैंकले प्रतिसेयर आम्दानीमा वृद्धि भएको रिपोर्ट पस्किएको हो । 

अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ८१ करोड चुक्तापूँजी रहेको यो बैंकको पूँजी बढेर २ अर्ब माथि पुगे पनि प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १२ रुपैयाँ ३८ पैसा रहेको इपीएस बढेर १४ रुपैयाँ ३२ पैसा पुगेको हो ।

बैंकले खूद नाफातर्फ पनि २८ प्रतिशतको हाराहारीमा प्रगति गरेको छ । अघिल्लो वर्ष ११ करोड २३ रुपैयाँ रहेको नाफा बढेर यो वर्ष १४ करोड ३७ लाखको विन्दुमा पुगेको हो । 

व्यवसाय बिस्तार भएका कारण २९ करोड २२ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी बढेर ३२ करोड ४९ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १९ अर्ब १८ करोड निक्षेप संकलन गरी १७ अर्ब २५ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १५ अर्ब ३९ करोड निक्षेप संकलन गरी १३ अर्ब २१ करोड कर्जा परिचालन गरेको थियो ।

विभिन्न बित्तीय संस्था गाभिएर बलियो रुपमा उदाएको  लुम्बिनी विकास बैंकको रिजर्ब कोषमा कमालको बढोत्तरी भएको छ । अघिल्लो वर्ष यही अवधिमा ११ करोडको हाराहारीमा रहेको यस्तो कोषमा समीक्षा अवधिसम्म १ अर्ब १ करोड माथि रकम जम्मा भएको छ । यसरी रिजर्ब कोषमा बैंकले ८१९ प्रतिशतको छलाङ मारेको देखिएको हो ।

बैंकको खराब कर्जा  भने बढेको छ । अघिल्लो वर्ष २.१७ प्रतिशत रहेको यस्तो कर्जा बढेर २.५ प्रतिशत पुगेको हो । यो अवधिमा  बैंकको प्रतिसेयर नेटवर्थ १५०.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.७ गुणा कायम भएको छ ।