काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमटिेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४० करोड १७ लाख बढी खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष यही अवधिमा १७ करोड ५० लाख मात्र नाफा कमाएको थियो । यो हिसाबले खूद नाफामा १२९.४९ प्रतिशतको फड्को मारेको देखिएको छ । 

बैंकले संभावित जोखिम व्यवस्थापनका लागि छुट्याएको ११ करोड ३४ लाख रकम राइटब्याक गरेका कारण समेत नाफा बढेर ४० करोड माथि पुगेको देखिन्छ । 

नाफामा फड्को मारेको देखिए पनि खूद ब्याज आम्दानीमा भने सामान्य मात्र प्रगति भएको छ । अघिल्लो वर्ष यही अवधिमा लुम्बिनी विकास बैंकको खूद ब्याज आम्दानी ७४ करोड २३ लाख रहेकोमा बढेर यो वर्ष ७७ करोड ३२ लाखको उचाईमा पुगेको छ । 

बैंकले २३ करोड ९६ लाखमा सीमित संचालन मुनाफालाई बढौर ४० करोड ६९ लाखको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा बैंकले २२ अर्ब १८ करोड निक्षेप संकलन गरी १८ अर्ब ३८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १७ अर्ब ९२ करोड निक्षेप संकलन गरी १५ अर्ब ६३ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले यो अवधिमा ७३ करोड २५ लाखमा सीमित रिजर्ब कोषलाई बढाएर १ अर्ब १४ करोडको उचाईमा पु्याएको छ । 

बैंकले खराब कर्जाको अनुपातलाई पनि घटाएको देखिन्छ । अघिल्लो वर्ष ३.७९ प्रतिशत रहेको यस्तो कर्जा घटाएर २.७५ प्रतिशतमा झार्न बैंक व्यवस्थापन सफल देखिएको छ । 

समीक्षा अवधिमा बैंकमा ७२.६३ प्रतिशत सीसीडी रेसियो छ भने कम्पनीको प्रतिसेयर आम्दानी १८.४८ रुपैयाँ रहेको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १५२.८४ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ७.९० गुणा कायम छ ।