काठमाण्डौ । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । कम्पनीले खूद नाफातर्फ ४०२ प्रतिशतको छलाङ मारेको हो । 

अघिल्लो वर्ष यही अवधिमा १ करोड ६१ लाखमा सीमित रहेकोमा बढेर ८ करोड ११ लाखको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष ६६ लाख संचालन घाटामा रहेकोमा यो वर्ष ११ करोड ५० लाख संचालन नाफा आर्जन गरेको हो ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ करिब ९० प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष १० करोड ७८ लाख रहेको यस्तो आम्दानी बढेर २० करोड ४३ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले २१ अर्ब ८४ करोड निक्षेप संकलन गरी २० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १८ अर्ब ४५ करोड निक्षेप संकलन गरी १५ अर्ब ९० करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ८३ करोड ३८ लाखमा सीमित रिजर्ब बढेर १ अर्ब २२ करोडको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष ३.१६ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर २.८६ प्रतिशतमा सीमित बनेको छ । 

नाफामा उल्लेख्य प्रगति भएका कारण यो बैंकको प्रतिसेयर आम्दानी ३६४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । अघिल्लो वर्ष ३ रुपैयाँ २२ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर यो वर्ष १४.९३ रुपैयाँको उचाईमा पुगेको हो।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५६.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.९२ गुणा कायम भएको छ ।