काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स लिमीटेडले १ बराबर १ को अनुपात(१०० प्रतिशत)मा शुक्रबारदेखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । 

एकसय रुपैयाँ अंकित मूल्यका कुल ३९ लाख कित्ता हकप्रद आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरिएको हो । यो बिमा कम्पनीको अन्तिम कारोबार मूल्य प्रति कित्ता ९ सय ३० रुपैयाँ रहेको छ । 

शुक्रबार(असार ३०)देखि निश्कासित हकप्रदमा आगामी भदौ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । 

यो कम्पनीको हकप्रदका लागि असार १३ गतेलाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ असार ११ गतेसम्म यो बिमा कम्पनीको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

सिबीआइएल क्यापिटल लिमीटेडले यो बिमा कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ । 

इच्छुक सेयरधनीले काठमाण्डौको डिल्लीबजारस्थित सीबीआइएल क्यापिटलको मूख्य कार्यालय, लालदरबारस्थित एस क्यापिटल मार्केट्सको कार्यालय तथा सिटिजन्स बैंक इन्टरनेशनलका तोकिएका शाखाहरुबाट हकप्रदका लागि आवेदन भर्न सकिने बताइएको छ । 

हकप्रदपछि लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्तापूँजी ७८ करोडको उचाईमा पुुग्नेछ । हाल यो कम्पनीको चुक्तापूँजी ३९ करोड रुपैयाँ रहेको छ । 

यो बिमा कम्पनीले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ११ करोड ६१ लाख खूद नाफा आर्जन गरेको थियो ।