काठमाण्डौ। गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। 

सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट विगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी रु. १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने र कर प्रयोजनका लागि ४२ लाख ९० हजार रुपैयाँबराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। सभाले कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५÷७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका प्रस्तावहरु पारित गरेको छ। 

सभाले सर्वसाधारण सेयरधनी समूहबाट गणेशराज रेग्मी र कमल भट्टराईलाई आगामी चार वर्षका लागि सञ्चालकका रुपमा निर्विरोध निर्वाचित गरेको छ। 

सभामा २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले वृद्धि भई  १ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको जानकारी दिइयो। 

कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई भर्चुवल प्रविधिलाई समेत उपयोग गरी सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको थियो।