काठमाण्डौ । दोश्रो बजारमा ९ सय रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको लुम्बिनी जनरल इन्स्योरेन्सको ४२ हजार ८ सय १५ कित्ता सेयरको भदौ २८ (आज)देखि बोलकबोल बिक्री खुलेको छ । 

यो बिमा कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म ३९ लाख कित्ता हकप्रदको बिक्री खुल्ला गरेको थियो । योमध्ये बिक्री नभएको ४२ हजार ८ सय १५ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि आवेदन खुल्ला गरिएको हो ।

यो कम्पनीको अबितरित सेयरको बोलकबोलबाट बिक्रीका लागि बिक्री प्रबन्धकको भूमिका सीबीआइएल क्यापिटल लिमीटेडले निर्वाह गर्नेछ । 

इच्छुक लगानीकर्ताले असोज ६ गतेभित्र तोकिएका स्थानमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिंदा न्यूनतम १ सय कित्ताका लागि र न्यूनतम १ सय रुपैयाँ मूल्य राख्नुपर्नेछ ।

बढीमा जति पनि मूल्य राख्न सकिन्छ । विगतको अभ्यासलाई हेर्दा दोश्रो बजार मूल्यको ९० देखि ९५ प्रतिशतको हाराहारीको मूल्य राखेर शिलबन्दी बोलपत्र पेश गर्नेलाई सेयर पर्ने संभावना रहन्छ। 

इच्छुकले सीबीआइएल क्यापिटलको काठमाण्डौ डिल्लीबजारस्थित मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

हल यो कम्पनीको चुक्तापूँजी ३९ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूर्ण व्यवस्थापनपछि चुक्तापूँजी बढेर ७८ करोडको उचाईमा पुुग्नेछ । बिमा समितिले गरेको नयाँ व्यवस्था अनुसार निर्जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०७४/७५ भित्र पूँजी बढाएर १ अर्ब पुर्याउनुुपर्छ ।