काठमाण्डौ । लोकसेवा आयोगले देशैभर राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदहरुमा एकैपटक थुप्रै कर्मचारी पदपूर्तिका लागि बुधबार दरखास्त खुलाएको छ। 

आयोगले निजामती सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधि), खुला र समावेश पदमा एकैपटक ७०८ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले न्याय, सामान्य प्रशासन र लेखा समूहमा कर्मचारी पदपूर्ति गर्न लागेको हो।  

आयोगको काठमाण्डौ कार्यालयअन्तर्गत सबैभन्दा धेरै १०९ जना कर्मचारी माग गरेको छ। यसैगरी जलेश्वर कार्यालयअन्तर्गत ९६ जना र दिपायल कार्यालयअन्तर्गत ५८ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त खुलाएको छ।

यसैगरी आयोगको पोखरा कार्यालयअन्तर्गत ५७ जना र बुटवल तथा दाङ कार्यालयअन्तर्गत ५५/५५ जना कर्मचारी माग गरिएको छ। 

यस्तै आयोगको धनकुटा कार्यालयअन्तर्गत ४७, इलाम कार्यालयअन्तर्गत २६, खोटा कार्यालयअन्तर्गत ३२, हेटौँडा कार्यालयअन्तर्गत ३४, बागलुङ कार्यालयअन्तर्गत ४६, सुर्खेत कार्यालयअन्तर्गत ३७, जुम्ला कार्यालयअन्तर्गत १२ र महेन्द्रनगर कार्यालयअन्तर्गत ४४ जना कर्मचारीका लागि दरखास्त खुलाइएको छ। 

इच्छुक उम्मेदवार लोकसेवा आयोगका वेबसाइटमा गएर अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम म्याद चैत १८ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ। 

उम्मेदवारको उमेरको हक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने महिला तथा अपांगता भएकाहरुका हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। 

परीक्षाको किसिम लिखि, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता हुनेछ।