- भक्तराज रसाइली

काठमाण्डौ । धितोपत्र बजारमा सबैले कमाउने वा सबैले गुमाउने हुँदैन । नेपालमा पनि कुस्त पैसा कमाउने विशेष आकर्षण मानिएको पुँजीबजारमा भारी मुनाफा भएको बेला लोभले गुमाएका उदाहरण हामीसामु प्रशस्तै छन्। 

बिजशालाले यसपालि त्यस्तै एक पात्र उभ्याएको छ, जसले लगानीको तीनगुणा मुनाफा बनाउँदासमेत लोभकै कारणले आएको पनि अवसर गुमाए । सेयरमूल्य बढ्दा खरिद गर्नतर्फ लाग्ने र सेयरमूल्य घट्दा आत्तिएर बेच्नतर्फ लाग्ने लगानीकर्ताहरुको मनोभाव नै होला या नहोला तर यही मनोभावले गर्दा ३ करोडको लगानीबाट ९ करोड हुँदासमेत लाभ लिन चुकेका हुन्, नवराज उप्रेती। 

पुख्र्यौली घर चितवन भएका उप्रेती हाल काठमाडाँैको नयाँ बानेश्वरका स्थायी बासिन्दा हुन् । बीए उत्तीर्ण उनी सेयर लगानीकर्ता दबाब समूहका सल्लाहकारसमेत छन् । विभिन्न सामाजिक संघसंस्थामा सक्रिय उनीसँग इन्कम अडिटरका रुपमा नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा २२ वर्ष काम गरेको अनुभव पनि छ ।

होटलको जागिर छाडेर अमेरिका जाँदासमेत मन नभुलेपछि नेपाल फर्केर उप्रेतीले राजधानीको एउटा हाउजिङ कम्पनीमा ६ वर्ष काम गरे । एकातर्फ हाउजिङ कम्पनी बन्द हुनु र सेयर मार्केटमा राम्रो कमाइ हुने भन्ने सुनेर करिब १५ वर्षअघि उनी आफन्त पर्ने ब्रोकर नम्बर १० का वीरेन्द्रराज खरेलकहाँ ठोक्किन पुगे । 

तिनै खरेलकै कारण सेयर बजारप्रति चस्का पस्दै गएको उप्रेती सुनाउँछन् । १५ लाख लगानीबाट एकैचोटि दोस्रो बजारमा छिरेका उनले सुरुमा सोचेजस्तो कमाउन सकेनन् र डेढ वर्षसम्म चुप लागेर बसे ।

सुरुमा नेपाल बंगलादेश बैंकको १२ सय कित्ता सेयर १२ सय रुपैयाँ प्रतिकित्तामा खरिद गरेका उप्रेतीले २०६९ सालमा उक्त सेयर प्रतिकित्ता ९८ रुपैयाँमा बेचेर ठूलो घाटा बेहोर्नुपरेको घटनासमेत सुनाए ।

त्यसपछि उप्रेतीलाई छिमेकीहरु विष्णु भट्टराई र हरि खड्काले आफूहरुले ब्रोकर नम्बर ५० सञ्चालनमा ल्याएको र त्यहाँबाट सेवा लिन आग्रह गरे । विगत ७ वर्षदेखि आफूले हालसम्म सोही ब्रोकरबाट सेयर खरिदबिक्री गरिरहेको उप्रेती बताउँछन् । उनले जग्गा बेचेको पैसा र घर बैंकमा धितो राखेर निकालेको ऋण रकमलाई सेयरमा ओइराउँदै गए । 

लगानी बढाउँदै ३ करोड रुपैयाँबाट सुरु गर्दा नेप्से इन्डेक्स बढेर सेयरको मूल्यमा समेत भारी वृद्धि हुँदा उप्रेतीको पोर्टफोलियो पनि वृद्धि भएर करिब ९ करोड पुगेको थियो । पोर्टफोलियो तीनगुणा हुँदासमेत उनमा पलाएको लोभले प्राप्त भइसकेको लाभसमेत कब्जा गर्न सकेनन् । ‘अहिले पोर्टफोलिय पुनः ३ करोडमा आएर साँवामै छु’, उप्रेतीले बिजशालासँग भने, ‘अहिले मैले फेरि ४ करोड ऋण थपेर सेयरमा लगानी बढाएको छु, अब चाहिँ म बजारप्रति एकदमै सचेत छु ।’

सेयरको कमाइले आफ्नी छोरीको बिहे, ८–१० वटा विदेश भ्रमण र तीनवटा गाडीसमेत जोडेका उप्रेती सेयर बजारमा लागेर कुनै पछुतो नभएको जिकिर गर्छन् । ‘मैले तीनवटा गाडी चढेँ तर सेयर घाटामा गएकाले बेच्नपर्यो तर अब आउने बुलिस मार्केटमा प्राडो किन्ने रहर छ’, उनले भने, ‘मलाई लोभले बिगार्यो, १२ करोड होला भन्ने महत्वकांक्षाले मैले गुमाउन पुगेँ । सेयर बजार जुवा हैन, सम्पत्ति जीरो नै हुँदैन, धैर्य गर्छु, अब त्यो अवसर पुनः आउँदैछ ।’

पारिवारिक असहमति हुँदाहुँदै पनि सेयर बजारप्रतिको मोह उप्रेतीमा कम भएको छैन । उनी सेयर लगानीकर्ता संघसंगठनका पाँचवटा झुन्डलाई एउटै लगानीकर्ता महासंघ बनाउन प्रयत्नरत छन्। 

क्याल्कुलेटरको हिसाबमा सेयरबाट दिनमै ३०-४० लाख रुपैयाँसम्म लाभ लिएको अनुभूतिसमेत उप्रेतीसँग छ । ईआईसीको ३५ सय कित्ता सेयर प्रतिकित्ता ७ सय रुपैयाँमा किनेर १३ सय रुपैयाँमा बेचेको र एभरेस्ट बैंकको ३ हजार कित्ता सेयर ८ सय रुपैयाँ प्रतिकित्तामा किनेर २४ सय रुपैयाँ प्रतिकित्तामा बेचेर मनग्ये कमाएको रोचक प्रसंगसमेत उप्रेतीले सुनाउन भ्याए । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ हजार कित्ता सेयर प्रतिकित्ता ४३ सय रुपैयाँमा किनेर १६ सय रुपैयाँ प्रतिकित्तामा बेच्दा ठूलो क्षति भोग्नुपरेको उप्रेतीको नमिठो भोगाइ छ ।

सेयरमा लाखबाट सुरु गर्दै ३ करोडले ९ करोड बनाउँदा नाफा रकम हाता पार्न नसकेको तीतो यथार्थबाट आफूलाई बजारले दुईवटा ज्ञान सिकाएको उप्रेती सुनाउँछन् । नाफा हुँदा लोभ नगरी बेच्न सक्नुपर्ने र घाटामा आत्तिएर बेच्न नहुने दुई मूलमन्त्र उनलाई सेयर बजारले सिकाएको पाठ रहेछ ।  

लोभ र त्रासको खेल निहीत सेयर बजारमा सही समयमा सही निर्णय लिन सक्नुपर्ने उप्रेती नयाँ लगानीकर्ताहरुलाई गुरुमन्त्र दिन चाहन्छन् । नयाँ लगानीकर्ताहरुलाई अहिले सेयरमूल्य ओरालो लागेको र न्यूनतम मूल्यमा राम्राराम्रा कम्पनीहरुमा लगानी गर्ने सुवर्ण अवसर रहेको उनी बताउँछन् । बिजशालासँग उनले भने, ‘कम्पनीहरुको रिटर्न पनि हेर्नु आवश्यक ठहर्छ ।’

नेप्से र सेबोनको आपसी जुँगा लडाइँले पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई मार परिरहेको उप्रेतीको बुझाइ छ । ‘बैंकलाई ब्रोकर लाइसेन्स कागजी घोडा बनाउने कसको स्वार्थ हो ? हामीसामु प्रस्टै छ’, आक्रोशित मुद्रामा उप्रेतीले प्रश्न गर्दै भने, ‘ब्रोकरहरुले पैसा दिएर चलखेल गरेकोमा म खेद प्रकट गर्छु । चाँडोभन्दा चाँडो बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ अन्यथा यसको जिम्मेवारी नेप्सेको सीईओ चन्द्रसिंह साउदले लिनुपर्छ ।’

हिजोआज सेयर बजारमा घाटा भएर बजारबाट लगानीकर्ता पलायन हुँदै छन् भन्ने सुनिन्छ नि भनेर बिजशालाले राखेको जिज्ञासामा उप्रेतीले आगोले पोलेको घाउ आगोले सेक्नुपर्छ भन्दै लगानीकर्तालाई विस्थापित नहुन आग्रहसमेत गरे । ‘सानो लगानीबाट पनि मनग्ये आम्दानी हुने सहज क्षेत्र सेयर बजार नै हो’, उनले भने, ‘अहिले सेयर बजारमा लगानीको सही समय पनि हो।’