काठमाण्डौ । लामो समयसम्म पनि भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि पहल नभएको भन्दै लगानीकर्ताहरुले विरोध जनाएका छन् । 

सेयर लगानीकर्तासँग सम्बद्ध पाँचवटै संगठनले भारित औसत लागत विधिका आधारमा हुने पूँजीगत लाभकर गणनाका लागि गरिएको व्यवहारिक व्यवस्था अन्तका लागि चित्तबुझ्दो पहल नभएको भन्दै मंगलबार धितोपत्र बोर्डमा विरोधपत्र बुझाएका छन् । 

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दवाब समूह, नेपाल पूँजीबजार संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, प्रवक्ता निरज गिरी र कार्यकारी निर्देश परिष्ठनाथ पौड्याल लगायतलाई भेटी विरोधपत्र बुझाएका हुन् । 

पूर्ण अनलाइन कारोबार प्रणालीमा पूँजीबजार प्रवेश भएको अवस्थामा ढुंगेयुगतर्फ बजारलाई धकेल्ने प्रयास भएको र ल्याप्चे युगको सुरुवात गर्न खोजिएको भन्दै यो विकृति अन्तका लागि बोर्ड गम्भीर नभएको लगानीकर्ताको आरोप छ । 

लगानीकर्ता र सबै सरोकारवालाबीच साउन ८ गते बोर्डमै भएको छलफलबाट २०५८ सालदेखि २०७६ असार मसान्तसम्मको कारोबारको औसत मूल्य निकाली यसैलाई आधार मूल्य कायम गर्ने विषयमा सहमति समेत भएको थियो । यो सहमति कार्यान्वयनमा समेत ढिलाई भएपछि सम्बन्धित निकायलाई झकझक्याउन विरोधपत्र बुझाउनुपरेको लगानीकर्ताका नेताहरुले प्रष्ट्याएका छन् । 

लगानीकर्तालाई दुःख दिने र बजारलाई कागजी युगतर्फ फर्काउने गरी लगानीकर्ताहरु ब्रोकर अफिसमा गएर ल्याप्चे लगाउनुपर्ने र आधार मूल्यका स्वघोषणा गर्नुपर्ने व्यवस्था आफूहरुलाई अस्वीकार्य रहेको उल्लेख गर्दै यो विषयमा समाधान ननिस्किएसम्म ब्रोकर अफिसमा गएर ल्याप्चे नलगाउन र आन्दोलनका लागि तयार रहन ५ संगठनले आम लगानीकर्तालाई आह्वान समेत गरेका छन् । 

यस्तो अव्यवहारिक व्यवस्था कार्यान्वयनमा ल्याएर पूँजीबजारलाई पछाडि धकेल्ने प्रयास गर्नेको पहिचान गरी कडा कारबाही गर्न समेत ५ संगठनले माग गरेका छन् । 

पाँच संगठनले साउन ८ गतेको सर्वपक्षीय सहमति शीघ्र कार्यान्वयन नभए र ल्याप्चे आतंक अन्त नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिएका छन् । 

बोर्डमा बुझाइएको विरोधपत्रमा इन्भेष्टर्स फोरमको तर्फबाट अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघबाट अध्यक्ष उत्तम अर्याल, सेयर लगानीकर्ता दवाब समूहबाट अध्यक्ष हरि ढकाल, नेपाल पूँजीबजार संघबाट अध्यक्ष संरक्षणा चौधरी र नेपाल पूँजीबजार लगानीकर्ता संघबाट अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गरेका छन् । 

यसअघि सोमबार अर्थमन्त्रालय पुगेका लगानीकर्ताहरुलाई राजश्व सचिव लालशंकर घिमिरेले बुधबार ११ बजे छलफलका लागि मन्त्रालय डाकेका  छन् । बुधबारको बैठकले पूँजीगत लाभकरको गणना विधि सम्बन्धी लफडा अन्तको आशा गरिएको छ । 

लगानीकर्ताहरुको विरोधपत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले ५ संगठनले उठाएका मागप्रति आफूहरु गम्भीर रहेको बताए । उनले साउन ८ गतेको सहमति अनुसार नै समाधानको उपाय खोजिने उल्लेख गर्दै आफूहरु समेत लगानीकर्ताको पक्षमै रहेको जिकिर गरेका थिए ।

धितोपत्र बोर्डमा विरोधपत्र प्रस्तुत गरेका पाँचैवटा संगठनका प्रतिनिधि बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा भइरहेको ढिलाई लगायतको विषयमा कुरा गर्न अहिले नेपाल स्टक एक्सचेञ्ज पुगेका छन् ।