-भक्तराज रसाइली 
काठमाण्डौ । पूर्वाञ्चलमा मात्र होइन, सेयर बजारका लगानीकर्ताबीच पनि ३ जिल्ले विकास बैंकको रुपमा मितेरी विकास बैंकको पृथक पहिचान छ ।

बैंकको कार्यक्षेत्र सुनसरी, झापा र मोरङ्ग रहेको छ । १८ वटा शाखा भएको विकास बैंकको केन्द्रीय कार्यालय सुनसरीको धरानमा रहेको छ । यस बैंकमा सीइओको रुपमा तुलसीप्रसाद वस्ती कार्यरत छन्, जो स्थापनाकालदेखि अहिलेसम्मै व्यवस्थापनको नेतृत्व गरिरहेका छन् ।

२०५२ सालमा २१ वर्षकै कलिलो उमेरमा नेपाल आयल निगममा सहायक प्रबन्धक हुँदै जागिरे जीवनको सुरुवात गरेका वस्तीले नेपाल बंगलादेश बैंकमा सिनियर अफिसर भई ७ वर्ष काम गरेका थिए । 

बैंक २०६५ सालमा स्थापना भएको थियो । र, उनी निरन्तर सो बैंकको सीइओ छन् । 

सरकारी कार्यालयमा क्षमताअनुसार काम गरे पनि अघि बढ्ने सम्भावना क्षीण देखेर आफू बैंकर बनेको वस्ती बताउँछन् ।

उनले महेन्द्र मोरंग क्याम्पसबाट बि.कम र २०५१ सालमा त्रिवि क्याम्पसबाट एमबिए टप गरेका थिए । 

उनी बैंकर मात्र नभई धरानमा एक बौद्धिक र सामाजिक व्यक्तिको रुपमा समेत चिनिन्छन् ।

पूर्वका विभिन्न व्यक्तिहरु मिलेर १ करोड ५८ लाख पूँजी लगानी गरी स्थापना गरिएको ३ जिल्ले विकास बैंक मितेरी विकास बैंक हो । हाल बैंकको चुक्ता पूँजी ५८.५ करोड रहेको छ ।

सामान्य मानिसले पनि केही गरोस् भन्ने मुख्य उद्देश्य बैंकको रहेको वस्तीको धारणा छ । ठूला व्यक्तित्व र उद्यमीका घर–घरमा बैंकिङ्ग सेवा दिएर पुलका रुपमा निरन्तरता दिइने बैंकको लक्ष्य रहेको वस्ती बताउँछन् ।

मितेरीको दोस्रो बजारमा बाणिज्य बैंकसरह उच्च मूल्य छ नि भन्ने जिज्ञासामा बैंक सञ्चालक व्यवस्थापन, पर्फमेन्स, बोनस लगायत विभिन्न कारक तत्वले गर्दा सेयरलगानीकर्ताहरुले विश्वासिलो लगानीको बैंकका रुपमा माया गरिदिएको उनको धारणा छ । 

मितेरीले आजका मितिसम्म ऋणका लागि राखिएको एउटा धितो पनि लिलाम गर्नु नपरेको उनी दाबी गर्छन् ।

आफूलाई संघीय ढाँचामा लैजाने र निकट भविष्यमा प्रादेशिक बैंक बनाउने योजना उनले सुनाए ।

हाल नयाँ वाणिज्य बैंक दर्ताको ढोका बन्द भएकाले विकास बैंक प्राथमिक स्कूल भएकै कारणले ग्राहकहरुको वाणिज्य बैंकप्रतिको आकर्षणलाई मध्यनजर गर्दै ठूलो बैंकसँग मर्जरमा जान सकिने समेत उनले खुलाए ।

आगामी एजीएमबाट ५ जिल्ले विकास बैंक बनाउन लागिएको र प्रारम्भमा एक बलियो प्रादेशिक बैंक बनाउने लगभग निश्चित झै रहेको उनको भनाई छ । ‘मुलुक र लगानीकर्ताहरुले इच्छा जाहेर गरे वाणिज्य बैंक पनि बन्न सक्छ।’–उनले भने।

राज्यका हरेक व्यक्तिले बैंकिङ्ग सेवा पाउनुपर्ने मान्यता राख्ने यो बैंकका १८ वटा शाखा छन्, ती शाखा ग्रामीण बजारमा बढी केन्द्रीत छन् । 

साहूमहाजनको चपेटामा परेकालाई मुक्ति दिलाउन बैंक निरन्तर लागिरहेको वस्तीको दाबी छ ।

हाल यो बैंकमा बचतकर्ता ४५ हजार बढी रहेका र कर्जा लिने ग्राहकको संख्या ६ हजार हाराहारी रहेको छ ।

पैसा राख्दा निक्षेप र योजनाबारे सोधेर अफर गर्ने गरेको अनि कर्जा लिनलाई अनुभव, क्षमता र सम्भावनालाई चिरफार गरेर मात्र उचित परामर्शका साथ बैंकिङ्ग सेवा दिलाउने गरेको उनले बताए । 

मितेरी पृथक काउन्सेलिङ्ग, परिवारको सदस्यझैं नाम अनुसारकै काम गरिरहेको उनको अर्को दाबी छ ।

बैंकका चुनौतीहरुलाई समेत अवसरका रुपमा हेरेर मितेरी डेभलपमेन्ट बैंक बढिरहेको उल्लेख गर्दै उनले नीति निर्माण गर्नेले दीर्घकाललाई सोचेर अगाडि बढिदिनुपर्नेमा जोड दिए ।

हाल मितेरीको सिसिडि अनुपात ७६ प्रतिशत मात्र छ । अरुले २५ प्रतिशत रियल सेक्टरमा लगानी गर्दा समेत त्यसबेला १० प्रतिशतमा मात्र सीमित राख्दै स्वनियम, स्वनियन्त्रण गर्दै अघि बढिरहेको उनले सुनाए ।

बैंकले हाल सन्तुलित कारोबार गरिरहेको उनको दाबी छ । बैंकको निक्षेप र ऋणतर्फको वृद्धि समेत सन्तुलित नै रहेको छ ।

बैंकमा अहिले पनि तरलता संकट नभएको, वर्षभरि १ प्रतिशत पनि ब्याजदर नबढाइएको दाबी गरेका वस्तीले गतवर्ष १ जना मात्र ग्राहकको ब्याज उठ्न बाँकी रहेको सुनाउन समेत भ्याए ।

कूल कर्जा प्रवाहको ६० प्रतिशत बढी कृषि र पशुपालनमा लगानी गर्नुको खास कारण खोल्दै सिइओ वस्ती भन्छन्–‘७० प्रतिशत बढी कृषिमा आश्रित कृषि सामाग्री आयात गर्नुपर्ने बाध्यता कहालीलाग्दो छ, निर्यात हुनुपर्नेमा पहिला आयात गर्नुपर्ने क्रमले निरन्तरता पाएकोले कृषि र पर्यटनमा जोड दिनुपर्छ ।’

केही गर्छु भन्ने चाहना राख्नेलाई आफ्नो बैंकको ढोका सदैव खुल्ला रहने र ग्राहकसँग सधैं नाम झै मितेरी साइनो गाँस्न तयार रहेको वस्तीको भनाई छ ।