–सिवी अधिकारी 
काठमाडौँ । विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत गरिदियो । 
 
गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्रीसहित सातको निधन भएको थियो । पर्यटन आगमनको हिसाबले हालसम्मकै उच्च सङ्ख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७५ दर्ज भएको छ । इतिहासकै सबैभन्दा बढी १२ लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ ।
 
नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । 
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालू अव २०७५÷७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो । सोहीअनुरुप प्रवद्र्धनका कार्यक्रम तय भइसकेको छ ।
 
वर्षको शुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा उत्साह मात्रै थपिएन विभिन्न कीर्तिमान पनि कायम भए । वसन्त ऋतुको हिमाल आरोहण ४०० बढीले सगरमाथा आरोहण गरेका थिए । कामीरिता शेर्पाले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो । यसअघि कामीरितासहित आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । हिमालबाट रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी सङ्कलन भएको थियो ।
 
यस वर्षको वसन्तु ऋतुमा हालसम्म ७२ आरोही समूहका ६३६ आरोहीले हिमाल आरोहण अनुमति पाएका छन् । यीमध्यै सबैभन्दा बढी सगरमाथा आरोहणका लागि २८ आरोही समूह छन् । पर्यटन विभागको पर्वतरोहण शाखाका अनुसार हिमाल आरोहणबाट बिहीबारसम्म रु ४१ करोड ४७ लाख ६८ हजार १४५ रोयल्टी सङ्कलन भएको छ ।
 
सरकारले मुलुभर थप एक सय पर्यटकीय गन्तव्यको घोषणा गरी प्रवद्र्धनका लागि बजेट विनियोजन गरी काम अघि बढाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्टका रुपमा स्थापित गर्ने उद्देश्यका साथ आवश्यक तयारी पूरा भएको छ । नयाँ वर्षको शुभारम्भसँगै बुटिक एयरपोर्टको घोषणा गरिनेछ । उड्डयन इतिहासमै पहिलोपटक मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत ‘रनवे रिह्याब’ को काम यही चैत १८ देखि शुरु भएको छ । राति १० बजेदेखि विहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरेर धावनमार्ग मर्मतको काम भइरहेको छ ।
 
पर्यटकीय पूर्वाधारमा फड्को
पर्यटकीय पूर्वाधारका हिसाबले वर्ष २०७५ निकै उपलब्धिपूर्ण रह्यो । निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्रगतिमा अघि बढेको छ । करीब ८० प्रतिशत काम सकिएको यो विमानस्थल छिट्टै अर्थात् जुलाई महीनादेखि सञ्चालनमा ल्याइने योजना छ ।
 
पोखरा क्षेत्रीय विमानस्थलको काम युद्धस्तरमा अघि बढेको छ । बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले प्रभावकारी गति लिएको छ । मुआब्जा वितरण तथा चार किल्ला तोक्ने र तारबारको काम अघि बढाइएको छ । आन्तरिक विमानस्थल स्तरोन्नति र थप विमानस्थल सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको विवरणमा मुलुकभर ५६ विमानस्थल छन् । तीमध्ये ३२  विमानस्थल कालोपत्रे भइसकेका छन् ।
 
तारे तथा पर्यटकस्तरीय होटल बढेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले होटलको ‘बेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म करीब छ हजार बेड सङ्ख्या थपिनेछ । थप १० पाँचतारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करीब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ ।
 
यसै वर्ष पर्यटन क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ‘इभेन्ट’ कार्यक्रम भए । यसबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न मद्दत पुग्यो । पर्यटन क्षेत्रको हालसम्मकै ठूलो इभेन्ट ‘हिमालयन ट्राभल मार्ट–२०१८’ काठमाडौँ सम्पन्न भयो । यस्तै गत भदौ १४ र १५ गते काठमाडौँमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिम्स्टेक) सम्मेलनमा सम्बन्धित राष्ट्रप्रमुख पाहुनाको आगमनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्यो ।
 
गत मङ्सिर १५ र १६ गते काठमाडौँमा भएको एशिया प्रसान्त सम्मेलनमा विभिन्न मुलुकका पाहुना आए । यो सम्मेलनले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको छ । कम्बोडियाका प्रधानमन्त्री, म्यमानमारकी नेतृलगायतले नेपाल भ्रमण गर्नुभएको थियो । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्ने सम्झौता भयो । जुन पर्यटनका लागि उपलब्धिमूलक मानिएको छ । 
 
सर्वाधिक चर्चामा वाइडबडी 
निगमले खरीद गरेको वाइडबडी जहाज भित्र्दा जति चर्चा छायो त्यत्तिकै उक्त जहाजको खरीद प्रक्रिया अनियमितताबारेको विवादको चर्चा चुलियो । पहिलो जहाज वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ गत असार १४ गते र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमान गत साउन १० गते काठमाडौँ अवतरण गरेका थिए । 
 
सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिइएको रु १२/१२ अर्बको ऋणबाट दुई जहाज खरीद गरिएको थियो । जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावलीविपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि उक्त विषय संसद्देखि सडकसम्म पुग्यो । महालेखापरीक्षकको ५५औँ वार्षिक प्रतिवेदनले जहाज खरीद प्रक्रियामा त्रुटी औँल्याएको थियो । उड्डयन इतिहासमै पहिलोपटक सरकारले मन्ट्रियल महासन्धि लागू गरेको छ । सन् २०२८ डिसेम्बर १५ बाट यो व्यवस्था लागू गरिएको हो । महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकम करीब छ गुणाले वृद्धि भएको छ ।