काठमाण्डौ । वस्तु विनिमय बजार संचालन गर्न धितोपत्र बोर्डमा परेका पाँचवटा प्रस्ताव अस्वीकृत भएका छन् ।

प्रस्तावित कम्पनीहरुले पूर्व स्वीकृतिका लागि निवेदन पेश गरेकोमा वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम उक्त कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश गरेको नदेखिएकाले वस्तु विनिमय बजार सञ्चालन गर्न पूर्व स्वीकृतिका लागि आएका पाँचै निवेदकहरुलाई बोर्डले पूर्व स्वीकृति प्रदान नगरेको विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।

मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी हाललाई बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय समेत भएको छ । 

यही निर्णयमा टेक्दै बोर्डले नयाँ आवेदन दिन चाहने आवेदकका लागि आवेदन आव्हान समेत गरिसकेको छ । 

यसरी वस्तु विनिमय बजार संचालनका लागि पूर्व स्वीकृति प्रदान गर्दा प्रस्तावित कम्पनीको पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदकलाई छनौट गरिने बोर्डको प्रष्टोक्ति छ ।

अस्वीकृत भएका ५ आवेदकले समेत पुनः आवेदन गर्नसक्ने बताइएको छ।