काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले कार्यान्वयनमा ल्याएको अनलाइन ट्रेडिङ सिस्टममा दिनहुँ ठूला समस्याहरु आई बजार प्रभावित हुन थालेपछि यसको समाधान खोज्न भन्दै नेप्से, वाइको र ब्रोकरबीच छलफल सुरु भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा केहीबेरअघिबाट छलफल सुरु भएको हो । 

छलफलमा नेप्सेका सीइओ चन्द्रसिंह साउद लगायतका अधिकारी, ब्रोकर र वाइकोका प्रतिनिधि सहभागी छन् । 

स्रोतहरुले यो छलफललाई ‘गम्भीर र निर्णायक’ भनेका छन् । कतिपय ब्रोकरहरुले त यही छलफलमा हालको सिस्टमलाई स्थगन गरी पहिलाकै सिस्टम कार्यान्वयन गर्न र ३ महिनाको तयारीपछि मात्र फेरि अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव समेत सो छलफलमा पेश गर्ने तयारी गरेका थिए । 

यो छलफल नेप्सेका सीइओ चन्द्रसिंह साउद र स्टक ब्रोकर अशोसिएसनका अध्यक्ष भरत रानाभाटको पहलमा भएको हो । 

छलफलमा अनलाइन कारोबार प्रणालीका कमजोरी, यसको प्रयोग गर्दा खेप्नु परेका हैरानी र त्यसको सुधारका लागि अपनाउनसकिने विकल्पहरुको विषयमा समेत छलफल भइरहेको ब्रोकरहरुले बताएका छन् । 

कार्यान्वयनको पाँच महिना बितिसक्दा समेत नेप्सेको स्वचालित अनलाइन प्रणाली(नट्स)मा दिनहुँजसो अनेकन गम्भीर समस्याहरु आउने क्रम नरोकिएपछि यो छलफल आयोजना गरिएको हो ।

अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाकै कारण बजारप्रति लगानीकर्ताको विश्वास टुटिरहेको र यसले समग्र कारोबार प्रभावित हुँदा आफूहरु समेत ‘गर या मर’को अवस्थामा पुगेको ब्रोकर बताउँछन् । कतिपय त अनलाइनकै कारण बजार प्रभावित भई आम्दानी घटेर पेशाबाटै पलायन हुने अवस्थामा पुगेका ब्रोकर निकट स्रोत दाबी गर्छ । 

अनलाइन प्रणालीकै कमजोरीका कारण पूँजीबजारप्रतिको विश्वास कमजोर भई लगानीकर्ता विस्थापित भइरहँदा समेत अर्थमन्त्रालयले यो विषयमा चासो नदिनुलाई धेरैले चासोका साथ हेरिरहेका छन् । नेप्सेको अनलाइन प्रणाली उद्घाटनका क्रममा अर्थमन्त्री युवराज खतिवडाले सुरुवातका दिनमा केही सानातिना समस्याहरु आउन सक्ने भनिदिएका र त्यसैको आडमा अहिले नेप्से र वाइकोले झारा टार्ने काम गरिरहेका कतिपयको आरोप छ । 

अनलाइन प्रणाली बलियो, गुणस्तरीय र विश्वसनीय नहुँदा लगानीकर्ता बजारबाट बिमुख भइरहेका छन् । यसले पूँजी पलायनको डरलाग्दो अवस्था निम्त्याउन खतरा पनि उत्तिकै छ । 

देशको पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई समेत आश्वस्त पार्न नसकेको सरकारले चैत १५ र १६ गते आयोजना गर्न लागेको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुलाई केको आधारमा लगानी सुरक्षा र रिटर्नको सुनिश्चितताको विषयमा ग्यारेण्टी गर्ने हो भन्ने बिषयलाई पनि चौतर्फी चासोको साथ हेरिएको छ । 

पत्रकारलाई प्रवेश निषेध
यसैबीच, नेप्से, ब्रोकर र वाइकोबीचको छलफलमा पत्रकारहरुलाई प्रवेश गर्न दिइएको छैन । नेप्सेको सीइओ साउदले छलफलमा के हुन्छ, पछि जानकारी गराउनेछौ भन्दै त्यहाँ पुगेका संचारकर्मीहरुलाई सहभागी हुन दिएनन् । ‘हाम्रो छलफल गोप्य हो भन्दै हामीलाई प्रवेश गर्न दिइएन ।’ नेप्से पुगेका संचारकर्मीले भने–‘अनलाइन कारोबार प्रणालीजस्तो सार्वजनिक सरोकारको विषयमा केन्द्रीत हुने भनिएको छलफललाई गोप्य भन्दै किन हामीलाई रोकियो भन्ने कुरा बुझ्न सकिएन ।’