काठमाण्डौ । कृष्णराज लामिछानेले व्यवस्थापन सम्हालेपछि महालक्ष्मी विकास बैंक आक्रामक प्रगतिसहित अगाडि बढेको छ । व्यवस्थापनले २९ औं वाणिज्य बैंकको रुपमा दाबी गर्ने यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही  अवधिको तुलनामा खूद नाफामा ५५.१५ प्रतिशतको छलाङ मारेको हो । 

अघिल्लो आ.ब.को यही अवधिमा २१  करोड ७१ लाख खूद नाफा आर्जन  गरेको यो  बैंकले समीक्षा अवधिमा ३३ करोड ६९ लाख नाफा आर्जन  गरेकोहो । 

बैंकले अन्य सूचकमा समेत राम्रै फड्को मारेको छ । १० करोड ७९ लाख  रुपैयाँमा सीमित संचालन मुनाफालाई बढाएर १७ करोड १० लाखको उचाईमा पुर्याएको बैंकले व्यवसाय वृद्धिमा आक्रामक रणनीति लिएका कारण खूद ब्याज आम्दानीतर्फ चमात्कारिक प्रगति गरेको छ। अघिल्लो वर्ष ३६ करोड ८१ लखमा सीमित खूद ब्याज आम्दानीतर्फ ९५.२९ प्रतिशतको छलाङ मार्दै यो वर्ष ७१  करोड ८९ लाख आर्जन गर्न सफल भएको हो । 

बैंकले समीक्षा अवधिमा निक्षेप संकलनमा १०४ प्रतिशत भन्दा बढी र कर्जा परिचालनमा १०८ प्रतिशतले फड्को मारेको छ । यो  अवधिमा २५ अर्ब ११  करोड निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड कर्जा परिचालन गरेको हो । अघिल्लो वर्ष १२ अर्ब ३० करोड निक्षेप संकलन गरी १० अर्ब ४१ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले जगेडाकोषलाई चमात्कारिक ढंगले निकै मजबुत बनाएको छ । अघिल्लो वर्ष २२ करोड ६२ लाखमा सीमित कोषमा ४२६.५० प्रतिशतको छलाङ मार्दै कोषमा १ अर्ब १९ करोड जम्मा गर्न सफल भएको  हो । 

अधिकांश सूचक मजबुत भए पनि बैंकमा खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ३.८३ प्रतिशत रहेको यस्तो कर्जा बढेर यो वर्ष ३.९७ प्रतिशत पुगेको हो । 

अघिल्लो वर्ष १ अर्ब ३८ करोडमा सीमित चुक्तापूँजीमा ९० प्रतिशतको वृद्धि भई यो वर्ष २ अर्ब ६३ करोड पुग्दा पनि राम्रो नाफा गरेका कारण बैंकको इपीएसमा १८ प्रतिशतको मात्र गिरावट देखिएको छ । अघिल्लो वर्ष २०.८९ रुपैयाँ रहेको इपीएस यो वर्ष १७.०६ रुपैयाँ सीमित भएको हो । 

अवस्था मजबुत रहेका कारण प्रतिसेयर नेटवर्थमा भने गत वर्षको भन्दा करिब २५ प्रतिशतले वृद्धि भई १४५.२४ रुपैयाँ कायम भएको देखिएको छ ।