काठमाण्डौ । बैंकिङ समूह चम्किने क्रम झनै बढेपछि बजार बिहीबार पनि उकालो लागेको छ । दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा बैंकिङ समूहको बोलवाला रहेको छ । यो समूह नै चम्किने क्रम जारी रहेका कारण बिहीबार नेप्से परिसूचक १५.२२ अंकले बढेर १२३२.२६ को विन्दूमा पुगेको छ । 

तीन दिनअघिदेखि १२०० माथिको यात्रा सुरु गरेको नेप्सेको बढ्ने क्रम रोकिएको छैन । लगातार नेप्से परिसूचक बढिरहँदा लगानीकर्ता समेत उत्साहित देखिएका छन् । 

बैंकहरुको तेश्रो त्रैमासको प्रगति विवरण निकै राम्रो आउने र यसका आधारमा चालु आर्थिक वर्षका लागि ती कम्पनीले दिनसक्ने लाभांशको आँकलन गर्न सकिने भएकोले समेत वाणिज्य बैंकहरुबाट बम्पर लाभांश आउने आशामा यो समूहमा खरिदारी बढेको हो । 

बिहीबार दोश्रो बजारमा धेरै कारोबार गर्ने १० कम्पनीमध्ये ९ वटामा वाणिज्य बैंककै बोलवाला चलेका कारण समेत बैंकिङ स्टकमा लगानीकर्ताको आकर्षण कुन हदसम्म बढेको छ भन्ने देखिन्छ । 

यो दिन राम्रा र ठूला कम्पनीको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स ३.९९ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.२४ अंकको बढोत्तरी देखियो । 

बैंकिङ समूह २५.३५ अंक(२.३१ प्रतिशत)ले बढेको यो दिन होटल समूह १६.३६, विकास बैंक समूह ०.७२, उत्पादनमूलक १०.५७, माइक्रोफाइनान्स समूह १२ र अन्य समूह १.१९ अंकले बढे । 

जलविद्युत समूह ६.१४ अंकले घटेको यो दिन जीवन बिमा समूहमा २५.०१, निर्जीवन बिमा समूहमा १३.३२ अंक र वित्त समूह ३.९७ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका २४ लाख ३३ हजार २७५ कित्ता सेयर ७४ करोड ४१ हजार ४२५ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन कुमारी बैंकले ८ करोड ५८ लाख, प्रभू बैंकले ४ करोड ४७ लाख, नेपाल बैंकले ४ करोड २० लाख, एनएमबी बैंकले ३ करोड ६१ लाख, छिमेक लघुवित्तले २ करोड ९९ लाख, एनआइसी एशिया बैंकले २ करोड ९२ लाख, सिद्धार्थ बैंकले २ करोड ३५ लाख, एनसीसी बैंकले २ करोड २४ लाख, ग्लोबल आइएमई बैंकले २ करोड १३ लाख र माछापुच्छ्रे बैंकले १ करोड ९३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कमाउनेमा पनि वाणिज्य बैंकहरु नै अगाडि देखिए । सबैभन्दा धेरै कमाउने १० कम्पनीमा ६ स्थान वाणिज्य बैंकले नै कब्जा गरेका छन् ।

सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सेयर मूल्य ५.५० प्रतिशतले बढ्यो । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.३० प्रतिशतले बढ्यो भने लक्ष्मी बैंकको मूल्य ५.०५ प्रतिशतले बढेको छ । नवील र हिमालयन बैंकको मूल्य ५ प्रतिशतको हाराहारीमा बढेको छ।

यो दिन माउन्टेन हाइडो लिमीटेडको मूल्य सबैभन्दा बढी ६ प्रतिशतको हाराहारीमा घटेको छ । यो कम्पनीको दोश्रो बजार मूल्य घटेर आइपीओ मूल्य भन्दा कम ९५ रुपैयाँमा सीमित बन्न पुगेको छ । वल्र्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको मूल्य समेत ६ प्रतिशतकै हाराहारीमा घटेर ८० रुपैयाँमा सीमित बन्न पुगेको छ ।