काठमाण्डौ । वाणिज्य बैंकहरुले अब प्रत्येक त्रैमासमा आफूले केन्द्रीय बैंकमा पेश गरेको वार्षिक कार्ययोजनाको समीक्षा समेत पेश गर्नुपर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले एक खालको वार्षिक कार्ययोजना बनाई अस्वभाविक लक्ष्य हासिल गर्ने काम बैंकहरुले गर्न थालेपछि त्यसमा कडाई गर्न यस्तो व्यवस्था गरेको हो । 

मौद्रिक नीति घोषणा गर्दै गभर्नर डा. चिरञ्जिवी नेपालले वाणिज्य बैंकहरुले प्रत्येक आर्थिक वर्षका लागि निक्षेप दायित्व तथा कर्जा सापट सहितको वार्षिक कार्ययोजना संचालक समितिबाट स्वीकृत गराई यस बैंकमा पेश गर्नुपर्ने व्यवस्था रहेकोमा यस्तो कार्ययोजनाको संचालक समितिले त्रैमासिक रुपमा समीक्षा गरी यस बैंकमा पेश गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी बनाइने घोषणा गरेका हुन् ।

अब बैंकहरुले वार्षिक कार्ययोजनासँगै प्रत्येक त्रैमासमा त्यसको समीक्षासहितको कार्ययोजना पेश गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसले अनियन्त्रित दौडमा समाहित भई अस्वभाविक नाफा कमाउन चाहने बैंकहरु नियमनमा आउनेछन् ।