काठमाण्डौ । सरकारको समेत स्वामित्व रहेको कृषि विकास बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र निश्कासनको स्वीकृति दिएको छ । 

यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल वाणिज्य बैंकहरुले अफर गरेको भन्दा केही बढी ब्याजदर अफर गरिएको छ । 

हाल बजारमा आइरहेका वाणिज्य बैंकका ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतसम्म ब्याज पाउँछन् । तर, कृषि विकास बैंकको ऋणपत्रमा भने १०.३५ प्रतिशत ब्याज पाइनेछ । 

बैंकलाई रु. २.५० अर्बको '१०.३५% एडीबिएल कृषि बैंक ऋणपत्र-२०८३' निश्कासनका लागि अनुमति दिइएको हो ।

स्वीकृतिसँगै बैंकले रु. १ हजार दरका कुल २५ लाख युनिट ऋणपत्र निश्कासन गर्न खोजेको हो । 

सात वर्षे अवधिको ऋणपत्रमा वार्षिक ३५ प्रतिशत ब्याज पाइने र ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

कुल निश्कासन हुने कित्तामध्ये पब्लिकका लागि १० लाख र  प्राइभेट प्लेसमेन्टका आधारमा १५ लाख कित्ता बिक्री हुनेछ । 

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंकहरुले कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र निश्कासन गर्नुपर्ने व्यवस्था गरेपछि एकपछि अर्को गर्दै ऋणपत्रहरु बजारमा आइरहेका छन् । बजारमा आउने यस्ता ऋणपत्रमध्ये धेरै कम बित्तीय संस्थाको ऋणपत्र मात्र सबै बिक्री हुन सकेका छन् । 

बैंकहरुले दीर्घकालीन प्रकृतिका कर्जा प्रवाह गर्ने, तर स्रोत भने अल्पकालीन खालका मात्र आएपछि मिसम्याच हुने गरेको थियो । यसलाई कम गर्न दीर्घकालीन स्रोतको रुपमा ऋणपत्रमा जान नीतिले प्रेरित गरेको हो । 

कृषि विकास बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।