काठमाण्डौ । विश्व विख्यात लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कसायर हाथवे इंकको मुनाफा यो वर्षको दोस्रो त्रैमासमा ८७ प्रतिशतले वृद्धि भएको छ।

सेयरबजारमा आएको उछालसँगै लगानी पोर्टफोलियोको मूल्य बढेपछि कम्पनीको मुनाफामा बढोत्तरी आएको हो। यो  त्रैमासमा कम्पनीलाई २६.३ अर्ब डलर नाफा भएको छ। एक वर्षअगाडि यही अवधिमा कम्पनीले १४.१ अर्ब डलर नाफा आर्जन गरेको थियो। 

कम्पनीको नतिजामा कोरोना महामारीको नकारात्मक असरसमेत देखिएको छ। बर्कसायरले यो अवधिमा एयरक्राफ्टको पार्ट्स बनाउने सहायक कम्पनी प्रसिजन कास्टपार्टसको मूल्य करिब १० अर्ब डलर घटेको जनाएको छ। कोरोना महामारीका कारण हवाई यात्रा तथा विमान उद्योग नराम्ररी प्रभावित बनेपछि सहायक कम्पनीको मूल्य घट्न पुगेको हो। 

बफेटले लामो समयदेखि भन्दै आइरहेका थिए कि अपरेटिङ अर्निङले कम्पनीको परर्फमेन्सको धेरै राम्रो जानकारी प्रदान गर्ने गर्दछ। कोरोनासम्बन्धी प्रतिबन्धहरुका कारण बर्कसायरको अपरेटिङ अर्निङ १० प्रतिशत घटेर ५.५ अर्ब डलर पुगेको थियो। एक वर्षअघिको सोही अवधिमा कम्पनीको अपरेटिङ अर्निङ ६.१ अर्ब डलर रहेको थियो। 

यो त्रैमासमा बर्कसायरसँग करिब १४७ अर्ब डलरको नगद मौजाद थियो। यसबाट बफेटले यो त्रैमासमा बर्कसायरको ५.१ अर्ब डलरको सेयर खरिद गरेका थिए। यो त्रैमासपछि उनले थप केही लगानी पनि गरेका थिए। 

यो त्रैमासपछि बफेटले डोमिनियन इनर्जीको प्राकृतिक ग्यास पाइपलाइन एण्ड स्टोरेजको कारोबारलाई ४ अर्ब डलरमा खरिद गर्ने सम्झौता गरेका थिए। सम्झौताअन्तर्गत बर्कसायरले त्यस कम्पनीको ५.७ अर्ब डलरको ऋण पनि खरिद गर्नेछ। जुलाईको अन्तिम र अगस्ट महिनाको सुरुआतमा बर्कसायरले बैंक अफ अमेरिकाको २.१ अर्ब डलरको सेयर खरिद गरेको थियो। यसपश्चात बैंक अफ अमेरिकामा वर्कसायरको स्वामित्व बढेर ११.९ प्रतिशत पुगेको छ। 

बर्कसायर हाथवेसँग ९० प्रतिशतभन्दा बढी कम्पनीहरुको स्वामित्व रहेको छ। एप्पल, अमेरिकन एक्सप्रेस, कोका–कोला र बैंक अफ अमेरिकाजस्ता कम्पनीहरुमा पनि वर्कसायरको ठूलो स्वामित्व रहेको छ। – एजेन्सी