सल्लेरी, सोलुखुम्बु, । साेलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । 

कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताए । उहाँका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण गरेकी हुन्। 

विगत लामो समयदेखि विद्यालयलाई विभिन्न प्रकारका शैक्षिक सामग्री उपलब्ध गराउँदै आउनुभएका क्यानेडियन नागरिक मेरी कृष्टिलेरोसले यस शैक्षिकसत्रदेखि कक्षा सञ्चालन गर्ने गरी कम्प्युटर उपलब्ध गराएको प्रधानाध्यापक राईले जानकारी दिए । 

जिल्लाको सबैभन्दा विकट क्षेत्रमा कम्प्युटर कक्षाको व्यावहारिक ज्ञानसमेत विद्यालयबाट नै प्राप्त गर्ने भएपछि विद्यार्थीले खुशी व्यक्त गरेका छन् । 

कम्प्युटर कक्षाका लागि ६ कक्षादेखि माथिका विद्यार्थीले सहभागिता जनाउने विद्यालयले जनाएको छ ।