-चन्द्रकान्त खनाल
रुपन्देही ।  स्थानीय तहको निर्वाचनपछि सबै अधिकार स्थानीयलाई दिएपछि गुल्मीका गाउँपालिकाका प्रमुखले महङ्गा सुबिधासम्पन्न गाडी खरिद गरेका छन् । 

गत वर्ष  भएको चुनावपछिको समय स्थानीय तहका जनप्रतिनिधिले गुल्मीमा ४ करोड २६ लाख ३५ हजार ७६४ रुपैयाँका गाडी किनेका छन् । 
यसमा मोटरसाईकलको संख्या जोडिएको छैन । 

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा मदाने र मालिका गाउँपालिका बाहेक अरु सबैले नयाँ गाडी किनिसकेका छन् ।

सत्यवती गाउँपालिकाले यस आर्थिक बर्षमा लु १ झ ४३९ नम्बरको डबल क्यापसहितको स्कर्पीयो किनेको छ। ४० लाख एकहजार १७२ मा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । 

कालिगण्डगी गाउँपालिकाले पनि यसै आर्थिक बर्षमा लु १ झ ४६२ नम्बरको नयाँ गाडी खरिद गरेको छ । गाडीको मूल्य ३७ लाख ९५ हजार तिरेको सूचना अधिकारी ओम थापाले बताए। 

चन्द्रकोट गाउँपालिकाले पनि ३९ लाख ४५ हजारमा लु १ झ ४६६ नम्बरको गाडी खरीद गरेको छ । गुल्मी दरबार गाउँपालिकाले पनि स्कर्पीयो फुल बोडी खरिद गरेको छ ।

लु १ झ ४२५ नम्बरको स्कर्पीयोलाई ५६ लाख परेको सूचना अधिकारी सुरेश खनालले बताए । 

गुल्मीदरबार गाउँपालिकाको गाडीको मूल्य गुल्मीका स्थानीय तहमध्येको सबैभन्दा बढी हो । छत्रकोट गाउँपालिकाले बा २ झ ४१३० नम्बरको गाडी ४३ लाख ५९ हजार ५९२ मा खरिद गरेको छ ।

धुर्कोट गाउँपालिकाले पनि यस आर्थिक बर्ष नै नयाँ गाडी खरिद गरेको छ । लु १ झ ४१३१ नम्बरको गाडी ५५ लाख ६५ हजारमा खरिद गरेको सूचना अधिकारी इश्वरी भण्डारीले बताए।

रुरु गाउँपालिकाले लु १ झ ४६१ नम्बरको नयाँ गाडी ५५ लाख ७५ हजारमा खरिद गरेको छ । इश्मा गाउँपालिकाले गत आर्थिक बर्ष नै नयाँ गाडी खरिद गरेको छ । लु १ झ ४०२ नम्बरको गाडी ३७ लाख ९५ हजारमा खरिद गरेको सुचना अधिकारी नारायण महतले जानकारी दिए । 

मुसिकोट नगरपालिकाले पनि गत आर्थिक बर्षमा नै नयाँ गाडी खरिद गरेको छ । लु १ झ ४०१ नम्बरको नयाँ गाडी ५० लाखमा खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले बताए । रेसुङ्गा नगरपालिकाले निर्वाचनपछि नयाँ गाडी खरिद गरेको छैन ।

निर्वाचनभन्दा पहिले नै नगरपालिकामा बा १ झ ३१४ नम्बरको गाडी थियो । निर्वाचनपछि भू–संरक्षणको बा १ झ ४८८५ नम्बरको गाडी जिल्ला समन्वय समितिले दिएर नगरपालिकाले प्रयोग गरिरहेको सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए । गाडी खरिद नगरे पनि दुईजना सवारी चालक भने नगरपालिकाले नियुक्त गरेको छ ।

मालिका गाउँपालिकाले भने गाडी खरिद प्रक्रियामा रहेको जनाएको छ । करिब दुई महिनामा नयाँ गाडी ल्याउने प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । अहिले मालिका गाउँपालिकाले मासिक एक लाख तिरेर भाडाको गाडी प्रयोग गरिरहेको छ । गुल्मीका स्थानीय तहहरुसँग उल्लेख्य रुपमा मोटरसाईकल पनि रहेको पाइएको छ । गुल्मी जिल्लाका सबै स्थानीय तहमा कुल १८५ वटा सरकारी मोटरसाईकल छन् ।