-प्रकाश बञ्जारा
यूएई । कामबाट फर्किनासाथ साथीसँग बाहिर गएर पिएको १ चुस्की रक्सीले झापाका हिमाल कार्की(नाम परिवर्तन)लाई हप्ता दिनमै नेपाल पुर्यायो । 

अबैधानिक रुपमा बिक्री भइरहेको रक्सी भट्टीमा पुगेर पिउन मात्र के थालेका थिए त्यहिबेला प्रहरीको टोली आएर हिमालका साथै ६-७ जनालाई पक्राउ गरेर लग्यो, जो कहिल्यै आफ्नो कोठामा फर्किएर आएनन् । पछिबाट थाहा भयो हिमाल त नेपाल पुगिसकेछन् । कोठामा भएको उनको सामान कम्पनीले जेलमै लगेर हात लगाइदिएछ ।  

यता, भोजपुर घर भई दुवईको एक कम्पनीमा क्लिनरको काम गर्ने महेश राई(नाम परिवर्तन) विदेश भासिएको ३ बर्ष हुन लाग्यो । तर उनको अहिलेसम्मको बचत शून्य जस्तै छ । दैनिक ११ घण्टा काम गर्दा उनले मासिक झण्डै ९ सय ५० दिराम अर्थात नेपाली २५ हजार रुपैया तलब थाप्छन् ।

त्यसमा ३ सय जति खानामा खर्च हुन्छ, बेला बेलामा नास्ता, टेलिफोन र पकेट खर्च छुट्टाउँदा उनको बचतको हिसाब छैन । आफ्नो बचत नहुनुको मुख्य कारण रक्सी भएको राई स्वयम् स्वीकार गर्छन् । “साथीभाईसँग गयो १ बोटल भनेर शुरु गरिन्छ, तर पिउँदै गएपछि कति जान्छ थाहै हँुदैन, भोलिपल्ट हेर्दा गोजी खाली हुन्छ ।”–राईले भने । उनका अनुसार क्याम्पको छेउमै २÷३ ब्राण्डका लोकल वियर र ह्वीस्की सजिलै किन्न पाईन्छ । १ छोरीका पिता समेत रहेका राईले घरमा पैसा नपठाएको पनि ५ महिना जति भएछ,  भन्छन्–“बचत नै हुँदैन, यति थोरै पैसा खाँदै सकिन्छ के घर पठाउनु ?” अर्का झापा घर भएका पाठक थरका युवाको कथा पनि त्यस्तै छ । रक्सी पिउन छोड्ने चाहाना हँुदाहँुदै पनि छोड्न नसकेको बताउने पाठक नेपाल नगएको पनि ४ बर्ष भएछ । गत बर्ष पाएको १ महिना बार्षिक विदामा पनि पैसा बचत नभएकै कारणले दुवईमै बिताएको पाठक बताउँछन् । एकदिन राति अबेरसम्म रक्सी पिएर बिहान काममा जाँदा सुपरभाईजरले थाहा पाएर १५ दिन कामबाटै निकालिएको तितो याद पनि ताजै छ पाठकसँग । 

“काम नदिएपछि तलव पनि आएन बचत त परै जाओस्, महिनाको खर्च कटाउन पनि गाह्रो भयो ” पाठक भन्छन् । आफ्नो क्याम्पबाट बाहिर निस्किनासाथ गैरकानुनी मानिएको रक्सीका व्यापारी बगे्रल्ती भेटिन्छन् । बेला बेलामा हुने प्रहरीको छापाबाट जोगिन व्यापारीले पनि आफ्नै सिआईडि राखेका हुन्छन्, जो छापाको सुईको पाउनासाथ कता हराउँछन् पत्तै हुँदैन । 

काठमाण्डौ घर बताउने सौरभ केसी(नाम परिवर्तन) नाम चलेको कम्पनीका टेक्निसियन हुन् । झण्डै २५ सय दिराम अर्थात नेपाली ७० हजार रुपैया तलब पाउने केसीको मासिक बचत मुश्किलले १ हजार दिराम हुन्छ । खान बस्न कम्पनीले नै दिने हुँदा उनको धेरै खर्च भट्टितिरै हुन्छ । केसीकाअनुसार हप्ताको एकदिन छुट्टीमा उनी नाइटक्लब जान मन पराउँछन् । 

अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न पछिल्लो समयमा यहाँ थुप्रै नाइटक्लबहरु खुलेका छन्, जहाँ गएर संगीतको धुनमा नाच्नुका साथै अन्तराष्ट्रिय ब्राण्डका रक्सीमा रमाउनु धेरैको सोख नै हुन्छ । सामान्यतया पैसावालाहरुको गन्तव्य मानिने नाइटक्लबमा नेपालीहरुको भीड पनि बढ्दै गएको पाइन्छ ।  रक्सीका सौखिनहरुलाई सरकारले लाईसेन्सको व्यवस्था गरेको छ  । सामान्य तया ३ हजार दिराम तलबमान भएका जोकोहीले पनि कम्पनीको नो अव्जेक्सन लेटरका साथ निवेदन दिएमा लाईसेन्स सजिलै पाउँछन् । अल्कोहलको लाईसेन्स भएकाहरुले  खुल्लै रुपमा अल्कोहल टे«डिङ्ग सेन्टरमा गएर आवश्यक मात्रामा रक्सी खरिद गर्न सक्छन्  । तर मुस्लिम धर्मावलम्वीहरुका लागि भने लाईसेन्स दिईदैन । 

लाईसेन्स नभएकाहरुले भने होटल तथा रेस्टुरेन्ट र नाईटक्लवहरुमा गएर ढुक्कले पिउन सक्छन्, जसमा कानुनले केही बाधा पुर्याउँदैन । तर, लेबर क्याम्पको नजिकै प्रशस्त रुपमा पाउने रक्सी तथा पिउन योग्य नभएको विज्ञहरुको दाबी छ । रेडहर्स, फाइफ थाउजेण्ड, रेडरोस, थ्री थाउजेण्ड जस्ता ब्राण्ड यहाँका धेरै नेपाली तथा सामान्य जीवनशैलीका रक्सीप्रेमीहरुले सजिलै पाउने नाम हुन् । जसले दुखले कमाएको पैसा नाश गरिरहेका छन् भने अर्कोतिर स्वास्थ्यलाई पनि प्रत्यक्षरुपमा नोक्सानी पुर्याइरहेका छन् । कतिले त यही रक्सीको कारणले जागिर नै गुमाउनु परेको छ ।

सौखिनहरुका लागि दुखले कमाएको पैसा सकाउने अर्को माध्यम भनेको यहाँ अघोषित रुपमा फस्टाएको बेश्यावृति पनि हो । मसाज सेन्टरको रुपमा खुलेका थुप्रै मसाज पार्लरहरुमा यौनजन्य गतिविधिहरु हुने गरेको भुक्तभोगी बताउँछन् । त्यति मात्र नभएर यौन पेशामा आवद्घ भएका युवतीहरु यहाँको बरदुवई तथा देरा जस्ता शहरमा ग्राहक खोजेर बस्ने गरेका र विभिन्न बाहानामा बोल्ने र व्यापारको बारेमा कुरा गर्ने गरेको बताईदै आएको छ । 

पर्यटकलाई आवश्यक परेका हरेक सेवा उपलब्ध गराउने क्रममा रहेको युएइको दुवईमा अघोषित रुपमै थुप्रै गतिविधि खुल्ला जस्तै छन् । जसको पछि लागेर तथा गलत साथीको सँगतमा पर्दा थुप्रै नेपाली कामदारहरुले कमाईको ठूलो हिस्सा फगतमा गुमाईरहेका छन् ।