काठमाण्डौ । सोमबार पनि बजार बढ्न सकेन । ८.४४ अंकले नेप्से घटेर १२७०.५२ अंकमा सीमित बन्न पुुग्यो भने कारोबार रकममा पनि गिरावट आयो । 

यसरी बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले गिरावट आउँदा र यस्तो प्रवृति जारी रहँदा भविष्यमा बजार अझै घट्नसक्ने विश्लेषकहरु बताउने गर्छन् । 

विशेषगरी लगानीयोग्य रकमको अभावका कारण बैंक तथा बित्तीय संस्थाहरुबाट सहज ढंगले कर्जा पाउन छाडिएपछि, धेरै लगानीकर्ता सरकारले प्रस्तुत गर्ने श्वेतपत्रको पर्खाईमा रहेका र हकप्रदको थामिनसक्नुु बोझलाई कम गर्न कतिपयले सेयर बिक्री गर्ने प्रवृति लगायतका कारणले बजार निरन्तर घटिरहेको हो । 

अन्य देशमा बजार घटेर राम्रा कम्पनीको मूल्य न्यून विन्दूमा झरेको बेला खरीदको चाप देखिने गरे पनि यहाँ भने उल्टो अवस्था रहेको छ । बजार घटेर ब्लुचिप सेयरहरुको मूल्य निकै तल झर्दा समेत लगानीकर्ता खरीदका लागि तम्सिएका छैनन् । प्राथमिक बजारमा आउने सेयर खरीदमा लगानीकर्ताको दौडादोड चलेर कम्पनीहरुको आइपीओ ओभरसब्सक्राइब्ड भए पनि लगानीयोग्यको पूँजीको अभाव देखाउँदै दोश्रो बजारमा लगानी गर्नु पछाडिको कारण भनेको बजारप्रति लगानीकर्तामा विश्वास नभएर हो भन्न सकिन्छ । सरोकारवाला पक्षले लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम नगरेसम्म बजार बढ्ने छाँट देखिदैन । 

पहिलो बजारमा अंकित दरमै सेयर पाउने एउटा आकर्षण त छदैछ, तर दोश्रो बजारमै कतिपय कम्पनीको मूल्य आइपीओकै हाराहारीमा आउँदा समेत खरीद नगर्नुलाई लगानीकर्ताको विचित्रको मनोविज्ञानको रुपमा बुुझ्न सकिन्छ । 

सोमबार व्यापार, उत्पादनमूलक र अन्य समूहको सूचकमा सुधार भए पनि बाँकी सबै समूहको सूचक रातम्मे भएका छन् । 

अन्य समूह ३.५१ अंकले बढेको छ भने उत्पादनमूलक १.८ र व्यापार समूह १.३६ अंकले बढेको छ । अन्य सबै समूह घटेका छन् । 

बैकिङ समूह ८.८५ अंकले घटेको छ भने होटल समूहमा ३२.२८, विकास बैंकमा ८.७९, जलविद्युतमा २२.१८, बित्त समूहमा २.०४, बिमा समूहमा ५०.३२ र माइक्रोफाइनान्स समूहमा ०.७१ अंकले गिरावट आयो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स १.७९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७६ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका ७ लाख ७१ ह्जार ९ सय ९४ कित्ता सेयर २६ करोड ६२ लाख ७३ हजार १ सय २० रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सेयर किनबेच भयो । यो कम्पनीको ३ करोड ७ लाख बढीको सेयर कारोबार भएको हो । यस्तै, नागरिक लगानीकोषले २ करोड ९८ लाख, नवील बैंकले १ करोड २२ लाख, इन्भेष्टमेन्ट बैंकले ९४ लाख, चिलिमे हाइडोले ६६ लाख ९७ हजार, सानिमा बैंकले ६६ लाख, एभरेष्ट बैंकले ६५ लाख, कुमारी बैंकले पनि ६५ लाख, नेपाल बैंकले ६३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, सानिमा इक्वीटी फण्डको इकाई मूल्य समेत ५.०५ प्रतिशतले बढ्यो ।

यो दिन पनि अपी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ९.८० प्रतिशतको पहिरो गयो ।