काठमाण्डौ । जीवन बिमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बिमा गराउन थालेपछि त्यसलाई नियामक बिमा समितिले नियमन गरेको छ। 

कतिपय जीवन बिमा कम्पनीका अभिकर्ताहरुले सम्बन्धित कम्पनीका सीइओ र उच्च व्यवस्थापनसँग मिलेर विजिनेश बढाउने नाममा ब्याकडेटको मिति राखेर ठूलो रकमको बिमा गराउने र आफ्नो कमिसन केन्द्रीत भई अनइथिकिल अभ्यास गर्न थालेपछि त्यसलाई नियमन गर्दै बिमा समितिले सर्कुलर जारी गरेको हो । 

बिमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बिमालेख ब्याकडेट गर्न सक्ने बिमा समितिले व्यवस्था गरिदिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार तर एकल बिमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बिमालेखको हकमा ब्याकडेट समेत गर्न रोक लगाइएको छ । 

यसैगरी, बिमालेख अन्तर्गत समर्पण मूल्य तथा बिमालेख धितो राखी ऋण प्रदान गर्दा बिमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने व्यवस्था समेत भएको छ । तर, एकल बिमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बिमालेखको हकमा भने बिमा प्रारम्भ मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने बिमा समितिको सर्कुलरमा उल्लेख छ ।