काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको यही अवधिको तुलनामा १०७.८१ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष संस्थाले १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाले सञ्चालन मुनाफाबापत ३ करोड ४९ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ६८ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५ करोड ८८ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३ करोड ५५ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

दोस्रो त्रैमासमा संस्थाले ३८ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २७ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संस्थाले रिजर्भको आकार ३३.२१ प्रतिशतले बढाएको छ । गत वर्ष ७ करोड ३६ लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा बढेर ९ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा संस्थाको चुक्तापुँजी १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १५ करोड ३२ लाख रुपैयाँ थियो । 

वार्षिकीकृत संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६.५५ रुपैयाँ रहेको छ ।