काठमाडौँ । पर्याप्त पैसा कमाएर पनि वित्तीय व्यवस्थापन गर्न नसक्दा धेरै मानिस समस्यामा पर्ने गरेका छन् । कमाउनु जति महत्वपूर्ण विषय हो त्यतिकै महत्वपूर्ण कमाईको व्यवस्थापन पनि हो । वित्तीय व्यवस्थापन सम्बन्धी शेयर लगानीकर्ता वारेन बफेटको भनाई पनि मानिसले धेरै पटक दोहो¥याउने गरेका छन् । ‘कहिल्यै पैसाको फुरमास नगर्नु अथवा मितव्ययी बन्नु उनको पहिलो नियम थियो भने दोस्रो चाँहि पहिलो नियम कहिल्यै पनि नबिर्सनु भन्ने उनको भनाई थियो । 

पैसा कमाएर आफ्ना आवश्यकता पूरा गर्नु मात्र पनि महत्वपूर्ण विषय होइन । भविष्यमा आइपर्न सक्ने जस्ता सुकै समस्या पनि निराकरण गर्न सक्नु महत्वपूर्ण हो । यसका लागि वित्तीय व्यवस्थापनले महत्पूर्ण भूमिका खेलेको हुन्छ । धेरै मानिस  थोरै आम्दानी गरेर पनि सफल बनेका उदाहरण छन् । कसरी गर्ने त वित्तीय व्यवस्थापन ? केही टिप्स थाहा पाइ राखौँ -

खर्च कम, बचत ज्यादा 
सफल वित्तीय व्यवस्थापनका लागि मितव्ययी बन्ने पर्छ । जतिसक्दो कम खर्च गर्ने र बढी बचत गर्ने बानीले मानिससलाई वित्तीय व्यवस्थापन गर्न प्रोत्साहन गरिरहेको हुन्छ । तर बचतको उचित लगानी गर्ने बानीले मासिनलाई थप कमाई गर्न प्रेरित गरिरहेको हुन्छ ।
 
आफ्नो बजेट आफै बनाउने 
सरकार र संस्थाहरुले आफ्नो बजेट बनाउने गरका छन् । बजेट भनेको योजना मात्र हो । आगामी दिनमा कसरी आम्दानी गर्ने र के मा खर्च गर्ने भन्ने विषयको फेहरिस्त बजेटमा प्रस्तुत गरिएको हुन्छ । तर मानिसले व्यत्तिगत रुपमा भने बजेट बनाउने गरेको खासै पाइदैन । बजेट बनाउने काम वित्तीय व्यवस्थापनको उतिकै महत्वपूर्ण पाटो पनि हो । यसले मानिसलाई योजना बनाउने र कार्यान्वयन गर्ने बानी बसाउनका साथै कुशल व्यवस्थापक पनि बनाउन मदत गरेको हुन्छ । 

खर्चको निरन्तर मूल्यांकन
पछिल्लो समय शिक्षा प्रणालीमा निरन्तर मूल्यांकन निकै प्रचलित बनेको छ । सफल वित्तीय व्यवस्थापनका लागि आफूले गर्ने गरेको खर्चको पनि निरन्तर मूल्यांकन हुन जरुरी छ । निरन्तर मूल्यांकनको अर्थ भनेको कमी कमजोरीको बानी विकास हुन नदिनु नै हो । जसरी कुनै कमजोरी गरेको विद्यार्थीको निरन्तर मूल्यांकन गर्दा कमजोरी तुरुन्तै थाहा हुने र शिक्षकले तत्कालै सो कमजारी सुधार गर्न पृष्ठपोषण दिने गर्दछ, त्यसै गरी मानिसले पनि खर्चको निरन्तर मूल्यांकन गर्न सके वित्तीय व्यवस्थापन पनि सहज बन्दै जान्छ । 

लक्ष्य निर्धारण तथा कार्यान्वयन
मानिसको जीवनमा आइपर्ने हरेक घटना उसको वित्तीय पक्षसँग जोडिएको हुन्छ । कार खरीद गर्ने, घरजग्गा जोड्ने, छुट्टी बिताउने जस्ता र दैनिकी व्यवहार पनि खर्च सँग नै जोडिएका हुन्छन् । तसर्थ कहिले कार किन्ने, कहिले घरजग्गामा लगानी गर्ने , कहिले छुट्टी बिताउने जस्ता कामको योजना तय गर्नुपर्ने हुन्छ । यदि यी योजना समयमा नै बनाउन सकियो भने त्यसका लागि तयारी गर्ने मौका प्राप्त गर्नुका साथै त्यसको वित्तीय व्यवस्थापनका लागि लामो तयारी गर्ने समयसमेत प्राप्त गर्ने हुनाले उत्प्रेरित पनि गर्दछ ।