दुर्गा देवकोटा 

वित्तीय साक्षरता कक्षापछि कैलालीको टीकापुर–३ का महिला आयआर्जनका कार्यमा लागेका छन्। 

कैलालीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा रहेका परिवारका महिलालाई विदेशबाट आएको रकम बचत गर्नुका साथै आम्दानी बढाउने कार्यमा लाग्न प्रेरणा दिने उद्देश्यले आयोजना गरेको साक्षरता कक्षापछि महिलाले फजुल खर्च घटाउन थालेका छन् ।उनीहरुले साक्षरता कक्षामा सहभागी भएपछि रकमको महत्व बुझेको र खर्च र आम्दानीको हिसाब किताब राख्न थालेको बताएका हुन् । 

टीकापुरकी उर्मिला चौधरीले कक्षामा सहभागी भएपछि रकमको महत्व बुझेको बताउनुभयो । “श्रीमान्को कमाइ बचत गर्नुका साथै म पनि व्यवसाय गर्न थालेकी छु”, चौधरीले भन्नुभयो, “श्रीमान् तीन वर्ष विदेश बसेर फर्केका छन् । मैले पनि व्यावसायिक रुपमा बाख्रा र बङ्गुर पालन शुरु गरेकी छु।” 

टीकापुर–३ कै रमिता चौधरीले पनि साक्षरता कक्षापछि हिसाबकिताब राख्न सिकेको बताउनुभयो । “हिसाबकिताब राखेपछि परिवारमा द्वन्द्व पनि घटेको छ”, रमिताले भन्नुभयो, “यसले फजुल खर्च पनि नियन्त्रणमा सघाउँदो रहेछ ।” श्रीमान् वैदेशिक रोजगारीमा रहेकी अमिसा चौधरीले पनि श्रीमान् विदेश जाँदा बनाइएका महत्वपूर्ण कागजातको फोटोकपी मगाएको बताउनुभयो । 

चौधरीले विदेश जाँदा अपनाउनुपर्ने सावधानी, विदेशको कमाइको बचत गर्ने तरिका, हिसाबकिताब राख्ने तरिका र आयआर्जनका कार्यमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । “श्रीमान् विदेश जाँदाका कागजात घरमा थिएनन्, हाल विदेशबाट मगाएकी छु”, अमिसाले भन्नुभयो, “म कानूनी प्रक्रियाबारे पनि सचेत भएकी छु ।” 

टीकापुरकी मञ्जु विकले साक्षरता कक्षामा पैसाको महत्व बुझेपछि छोराछोरीमाथि हुने फजुल खर्च घटाएको बताउनुभयो । उहाँले छोराछोरीलाई पसलको खानेकुरा नास्ताका रुपमा दिने, तरकारी किनेर खान छोडेको बताउँदै तरकारी खेती शुरु गरेको बताउनुभयो । महिलाले फजुल खर्च महँगो मोबाइलजस्ता सामग्रीसमेत बोक्न नहुनेमा सचेत भएको बताएका छन् । 

विदेशमा बस्ने परिवारका सदस्यले मोबाइलजस्ता अनावश्यक क्षेत्रमा बढी खर्च गर्ने कार्य गलत रहेछ भन्ने बुझेको महिला बताउँछन् । टीकापुर–३ का वडाध्यक्ष रामसेवक महतोले विदेश गएका परिवारका सदस्य र महिलामा आएको परिवर्तन देख्दा खुशी लागेको बताउनुभयो । “महिलामा बचत गर्ने बानीको विकास र आयआर्जनका कार्यमा लाग्नु सकारात्मक सन्देश हो”, वडाध्यक्ष महतोले भन्नुभयो, “महिलाले सम्भाव्यता खोजी व्यवसायका लागि वडामा आएमा वडाले सघाउँछ ।” 

दक्षता वृद्धिका लागि सघाउन माग कैलालीका ब्युटिसियनले यो पेशामा लागेका महिलाको क्षमता विकासका लागि सांसदसँग सहयोग मागेका छन्। ब्युटिसियन महिलाले नयाँ नयाँ फेसन मेकअप, ब्राइडल मेकअप र हेयरस्ट्रेटलगायतका कुरामा थप ज्ञान आवश्यक रहेकाले ब्युटिसियन महिलाका लागि पनि योजना छनोट गरिदिन सुदूरपश्चिम प्रदेशका सांसद उमादेवी वादीसँग माग गरेका हुन् । 

महिलाले स्थानीय र प्रदेश सरकारले आर्थिक आयआर्जनमा टेवा पु¥याइरहेका महिलाका लागि थप क्षमता विकास हुने खालका कार्यक्रमको व्यवस्था गरिदिन आग्रह गरेका छन् । 

सुदूरपश्चिम प्रदेशका सांसद उमादेवी वादीले ब्युटिसियन पेशाका कारण नेपालमा धेरै महिला स्वरोजगार भएको बताउनुभयो । “ब्युटिसियन पेशामा लागेर नेपालमा हजारौं महिला व्यवसायी भएका छन् । यो सीप सिकेका महिलाले आत्मसम्मानका साथ बाच्ने वातावरण बनेको छ”, सांसद वादीले भन्नुभयो, “ब्युटिसियन महिलासँग भएको सीप कहिल्यै नसकिने भएकाले यो सीप शिक्षाजस्तै हो । कसैले लिन नसक्ने, जति बाडेँ त्यति बढ्दै जाने ।” 

सांसद वादीले प्रदेशमा आफूले ब्युटिसियनका समस्याबारे कुरा उठाउने बताउनुभयो । “पछिल्लो समय यो पेशामा लागेका महिलालाई सम्मानजनक दृष्टिले हेर्न थालिएको छ । महिलाको दैनिकी पनि फेरिन थालेको छ”, सांसद वादीले भन्नुभयो, “पढेलेखेका महिला पनि यो पेशालाई व्यवसाय बनाउन थालेका छन् ।” 

टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने पेशाका रुपमा ब्युटिपार्लर व्यवसाय फष्टाउँदै गएको बताउनुभयो । “टीकापुर नगरपालिकाले यो पेशा अङ्गालेका महिलाको दक्षता वृद्धिका क्षेत्रमा सघाउनेछ”, उपप्रमुख बिष्टले भन्नुभयो, “टीकापुर नगरपालिकाले सहयोग गर्छ, तपाईहरु सङ्गठित भएर योजना माग्नुस्, अबको नगरसभाले सम्बोधन गर्नेछ ।” 

ब्युटिसियनविज्ञ इभा श्रेष्ठले ब्युटि पेशामा लागेका महिलालाई समय समयमा सौन्दर्य ज्ञानबारे जानकारी लिन आवश्यक रहेको बताउँदै “आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि यो व्यवसायले सहयोग गरेको छ भन्नुभयो ।” 

“नेपालको अर्थतन्त्रमा ब्युटि पेशामा लागेका महिलाको ठूलो योगदान छ”, उहाँले भन्नुभयो, “व्यवसायलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि सीप सिक्नु अनिवार्य छ । साइड इफेक्ट नगर्ने मेकअपका सामग्री तथा कस्मेटिक्सको प्रयोग गर्नुपर्छ ।” 

ब्युटिसियन एशोसिएशन टीकापुरका अध्यक्ष रेखा नेपालीले अन्तर्राष्ट्रियस्तरमा भित्रिएका नयाँ सीप तथा प्रविधिको बारेमा पनि जानकारी लिन आवश्यक रहेको बताउनुभयो । “नयाँ प्रविधि सिक्न तथा सिकाउन वर्षेनी सेमिनार आयोजना गर्ने गर्दछौँ”, उहाँले भन्नुभयो, “कैलालीमा मात्र एक हजारभन्दा बढी महिला यो पेशामा लागेका छौँ ।”