काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनाभरि अब जुनसुकै विदा परे पनि बैंक खोल्नुपर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

केन्द्रीय बैंकले यसपछि पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सोपछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदामा बैंक खोल्न निर्देशन दिएको हो । 

यी महिनाहरुको अन्तिम हप्ता राजश्व बुझ्ने र बुझाउने प्रयोजनका लागि बैंकहरु खुल्ला राख्नुपर्ने निर्देशन दिइएको केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जनाएका छन् । 

यो अवधिमा सबै बैंकका राजश्व संकलन काउण्टर तथा बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउण्टरहरु लगायत नेपाल क्लियरिङ हाउस लिमीटेड पनि पूर्णकालीन रुपमा खुल्ला गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । 

सर्कुलर असोज २४ गते आएको हो । केन्द्रीय बैंकले यस्तो सर्कुलर प्रत्येक वर्षको असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता जारी गर्दै आएको छ ।