काठमाण्डौ । नेपालमा प्रसारण भइरहको विदेशी च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिइएको छ। 

आउँदो कात्तिक ८ गतेदेखि नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ कार्यान्वयन हुँदैछ। सोही कारणले समितिले कात्तिक ७ गतेभित्र सरकारलाई नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन दिएको हो।

संसदको विकास तथा प्रविधि समितिले सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँगको छलफलमा समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारण गरिरहेको विदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको छ। यो ऐन कार्यान्वयनमा आएपछि पर्ने प्रभाव र विदेशी च्यानलहरु रोकिने अवस्थाबारे आफ्नो धारणा १५ दिनभित्र पठाउन समितिले मन्त्रालयलाई निर्देशन पनि दिएको छ।

यसैगरी समितिले नेपालबाट विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्ने नीति नलिन पनि मन्त्रालयलाई सुझाएको छ। नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलहरुको प्रसारण रोक्न मन्त्रालयले बनाएको योजना पनि पठाउन समितिले निर्देशन दिएको छ।