काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले “आजको आवश्यकता, विद्यार्थीहरुमा बित्तीय साक्षरता” भन्ने मूल आशयले २१५ औं बित्तीय साक्षरता कार्यक्रम विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । 

विगतमा कार्यक्षेत्रभित्रका स्थानीयहरुलाई (महिला र पुरुष) यस कार्यक्रममा सहभागी गराउँदै आएको बैंकले गत आर्थिक वर्षदेखि विद्यार्थीहरुमा समेत  वित्तीय साक्षरता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको हो । 

वित्तीय साक्षरता कार्यक्रममा बित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनिकरणका लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकारलगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो ।

बैंकले हालसम्म २१५ स्थानमा करिब ४०००० जना स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेको छ । 

कार्यक्रममा उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रममार्फत विद्यार्थीहरुमा जुन वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसायोग्य रहेको साथै कार्यक्रम अति महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तरगत वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्दै आएको छ । आगामी दिनमा कार्यक्षेत्रभित्रमा व्यापक रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने योजना बनाएको छ । 

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दैनिक अध्यापनमा समेत सघाउ पुग्ने र अध्ययनमा साक्षर भएपनि वित्तीय रुपमा साक्षर नभएको महसुस गरी आफूले अब वित्तीय निर्णय लिन सक्षम भएको बताएका थिए । बैंकले गरेको यस प्रकारको कार्यक्रमलाई व्यापक रुपमा संचालन गर्न सुझाव दिएका थिए ।