काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग युुरोपेली सङ्घ निर्वाचन पर्यवेक्षण मिसनको टोलीले भेटी गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएको छ । 

सभामुखको कार्यालय सिंहदरबारमा आज निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपेली संसद् सदस्य जेलजना जोभ्को नेतृत्वको टोलीले भेटवार्ता गरेको हो । सो अवसरमा सभामुख महराले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकामा मिसन टोलीलाई धन्यवाद दिँदै जस्तोसुकै परिस्थितिमा पनि नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल भएको र पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताउनुभयो । 

सो अवसरमा पर्यवेक्षण मिसनका प्रमुख जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गर्दै निर्वाचनको समग्र अनुगमन गरी २९ बुँदे सुझाव पेश गरिएको बताउनुभयो । उहाँले नेपालले विद्युतीय मतदान प्रणालीको शुरुआत गर्नुपर्नेमा जोड दिनुभयो ।