काठमाण्डौ । महसुल तिर्नैका लागि विद्युत प्राधिकरणमा गएर लाइन बस्ने झञ्झट व्यहोर्नु हुँदैछ ? यदि त्यसो हो भने अब तपाईको यस्तो झञ्झट अन्त हुने भएको छ । अब देश विदेशमा बस्नेले आइएमई पेमार्फत विद्युत महसुल घरमै बसी–बसी आफ्नो स्मार्टफोनबाट भुक्तानी गर्ने सुविधा आएको छ । यो सुविधासँगै बिल तिर्न प्राधिकरणको बिल काउण्टरमा गएर लामो लाइन छिचोल्नुुपर्ने बाध्यता हटेको छ । 

प्राधिकरणसँगको सहकार्यमा आइएमई पेले विदेशमा बस्नेले समेत स्वदेशमा रहेका आफ्ना परिवारजनले उपभोग गरेको बिजुलीको महसुल सजिलै भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । 

नेपाल बिद्युत प्राधिकरणले पनि केही समयअघिदेखि राजधानीमा अनलाइन बिल भुक्तानी सेवा शुभारम्भ गरिसकेको छ । प्राधिकरणको यही अभियानलाई सार्थक पार्न आइएमई पेले ग्राहकलाई अनलाइन भुक्तानीको सुविधा सुरु गरेको हो । यस्तो सेवाले ग्राहकहरुको समयको समेत बचत हुने बताइएको छ । 

नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्दतिबाट गर्न सुरु गरिसकेको छ। प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफूूलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेटमार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने  आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले आफ्नो मोवाइलबाटै महसुल घरमै बसी बसी तिर्न सक्नेछन् ।

मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।