काठमाण्डौ । विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको कार्यान्वयनका लागि लगानी बैंक(यूरोपियन इन्भेष्टमेन्ट बैंक)बाट करिब रु. १२ अर्ब ४१ करोड(१०० मिलियन यूरो) बराबरको ऋण सहायता प्राप्त गर्ने सम्बन्धी वित्तीय सम्झौता भएको छ । 

माघ २९ गते यो विषयको सम्झौता हस्ताक्षर भएको हो । 

सम्झौतामा उल्लेखित प्रतिवद्धताको प्रभावकारिताका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले र यूरोपेली लगानी बैंकका तर्फबाट उक्त बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले हस्ताक्षर गरी मेलमार्फत आदानप्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

हस्ताक्षरित सम्झौताको सक्कल प्रति दुवै पक्षलाई उपयुक्त हुने समयमा आदानप्रदान गरिने बताइएको छ । 

नेपालको ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको विद्युतमा पहुँच बढाउने, विद्युत आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने र ऊर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य रहेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्वरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३/११ किलो भोल्टका सवस्टेसनहरु तथा ३३ किलो भोल्टका आपूर्ति लाईनहरु निर्माण गर्ने, ११ किलो भोल्टका आपूर्ति लाईनहरु, वितरण ट्रान्सफर्मरहरु र न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने र आयोजनाको कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलापहरु सञ्चालन हुनेछन् । 

प्रस्तुत आयोजनामा नपुग हुने रकममध्ये ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता एशियाली पूर्वाधार लगानी बैंकबाट पनि सहलगानीको रुपमा समीश्रणका लागि वार्ता भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।