काठमाण्डौ । कोरोना भाइरसबाट परेको प्रभावलाई सम्बोधन गर्दै सरकारले इन्टरनेट, विद्युत, खानेपानीको शुल्क देखि निजी विद्यालयको मासिक शुल्कमा समेत छुट दिने निर्णय गरेको छ । 

आइतबार मन्त्रीषरिषदबाट पारित राहात प्याकेजको घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले छुट तथा सहुलियतका विषयमा जानकारी गराएका हुन् । 

उनका अनुसार निजी विद्यालयले माध्यमिक तहसम्मको आवास बाहेक सबै शुल्क छुट दिने व्यवस्था मिलाइने भएको छ । 

यस्तै, दूरसंचार प्रदायकहरुले इन्टरनेट र डेटामा २५ प्रतिशत छुट दिनुपर्ने निर्णय समेत भएको छ । 

मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ उपभोक्तालाई विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय समेत मन्त्रीपरिषदले गरेको छ । 

विद्युत, खानेपानी, टेलिफोनको भुक्तानी बैशाख मसान्तसम्म बुझाएमा कुनै विलम्ब शुल्क वा जरीवाना नलाग्ने समेत राहात प्याकेजमा उल्लेख छ । 

यस्तै, मागभन्दा बढी भएको विद्युत खपत गर्ने उत्पादनमूलक प्रतिष्ठानलाई उनीहरुको प्रकृति हेरेर ३० देखि ५० प्रतिशतसम्म विद्युत महसुलमा छुट दिने निर्णय समेत गरिएको छ ।