काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । 

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको आजै विदाई भएको थियो । उनको कार्यकाल सकिएसँगै वरिष्ठताका आधारमा कोइराला निमित्त तोकिएका हुन् । 

कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार कोइराला नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक(१२ औं तह)मा कार्यरत कर्मचारी हुन् । 

उर्जा मन्त्रालयस्थित स्रोतका अनुसार विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक चयन गर्न अब खुल्ला प्रतिस्पर्धाको विधि अपनाइनेछ । खुल्ला रुपमा आह्वान गर्ने र प्रतिस्पर्धामा आउनेहरुमध्येबाट उत्कृष्टलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त बनाइनेछ । 

तत्कालीन कार्यकारी निर्देशक घिसिङ पनि खुल्ला प्रतिस्पर्धाबाटै नियुक्त भएका थिए । अब सुरु हुने खुल्ला प्रतिस्पर्धामा घिसिङले पनि सहभागिता जनाउन पाउनेछन् ।