काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली युवाले चालू आर्थिक वर्षको सात महीनामा रु पाँच खर्ब १५ अर्ब ५५ करोड विप्रेषण नेपाल पठाएका छन्। 

विप्रेषण आप्रवाहमा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन प्रतिशतले घटेको थियो । 

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९ दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार दशमलव नौ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा चार दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक दशमलव छ प्रतिशतले घटेको थियो ।