रुपन्देही । नेकपाको बुटवलस्थित कार्यालय भवन प्रहरीले डोजर लगाई  भत्काएको छ । 

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएपछि बुटवल पाल्पारोडस्थित रातो घरमा रहेको  भवन प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले डोजर लगाएर शुक्रवार भवन भत्काएको हो । 

राष्ट्रिय वाणिज्य बैंकको उक्त भवन १३ वर्षअघि तत्कालीन माओवादीले कब्जा गरेको थियो । माओवादी विभाजनपछि उक्त भवन मोहन वैद्य नेतृत्वको माओवादी र त्यसपछि विप्लव नेतृत्वको समूहले प्रयोग गर्दै आएको थियो ।

‘जिल्ला सुरक्षाको निर्देशनअनुसार भवन भत्काएको हौं।’ इलाका प्रहरी कार्यालय  बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले शान्ति सुरक्षाका लागि चुनौतीपूर्ण देखिएपछि भत्काइएको बताए। ०६१ सालमा माओवादीले बम विस्फोट गराएपछि बैंकको क्षेत्रीय कार्यालय त्यहाँबाट पोखरा स्थानान्तरण भएको थियो । बैंकको स्वामित्वमा त्यहाँ ११ कट्ठा जग्गा छ ।