काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ विभाजनको भूङ्ग्रोमा पर्दै गएको छ । 

विशेष साधारणसभा र त्यहाँ पेश हुने विधान संसोधनको प्रस्तावको बिषयलाई लिएर महासंघभित्र विभाजनको रेखा कोरिएको हो । 

यही क्रममा बुधबार ६ पूर्व अध्यक्षहरुले महासंघका वर्तमान अध्यक्ष पशुपति मुरारकालाई एक पत्र पठाउँदै कात्तिक ४ गते तोकिएको महासंघको विशेष साधारणसभा बहिस्कार गरिने जनाएका छन् । पूर्वअध्यक्षहरुको यस्तो निर्णयले विधानको बिषयमा मत दिन काठमाण्डौ आएका प्रतिनिधिहरु समेत विभाजित बन्न पुगेका छन् । 

महासंघका पूर्वअध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले आफूहरुलाई विशेष साधारणसभाको बिषयमा कार्यकारिणी समितिबाट कुनै जानकारी नगराइएको र विधान संसोधनको बिषयमा समेत कुनै राय नमागिएको भन्दै बहिस्कारको निर्णय गरेका हुन् । 

उनीहरुले विधान संसोधनकै  मूल उद्देश्यले विशेष साधारणसभा बोलाइए पनि सो प्रक्रियाको  बिषयमा पूर्व अध्यक्षको हैसियतले व्यक्तिगत र सामूहिक रुपमा सुझाव लिने, छलफल गर्ने काम आफूहरुसँग नगरिएको गुनासो गरेका छन् । 

परम्परादेखि नै साधारणसभा र विशेष साधारणसभामा पूर्व अध्यक्षहरुलाई उपस्थितिका लागि निमन्त्रणा नै हुने गरिए पनि यसपटक त्यस्तो निमन्त्रणा समेत नआएको भन्दै उनीहरुले अध्यक्ष मुरारकालाई पठाएको पत्रमा आफूहरु उपस्थित हुन असमर्थ रहेको व्यवहोरा विशेष साधारणसभामा सुनाइदिन समेत आग्रह गरेका छन् । 

महासंघका पूर्व अध्यक्ष तथा अधिकांश सदस्यहरु विधान संसोधनको प्रस्तावका विभिन्न बुँदामध्ये मुख्य रुपमा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने बिषयको विरोधमा छन् । उनीहरुले यो प्रस्तावले महासंघमा विभाजन निम्त्याउने यसअघि समेत चेतावनी दिएका थिए । एक कार्यकारिणी सदस्यका अनुसार महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र रविभक्त श्रेष्ठको डिजाइनमा महासंघलाई कमजोर बनाउनैका लागि आपसमै लडाउने रभिडाउने उद्देश्यले सर्वत्र विरोधका बाबजुद अध्यक्ष मुरारकाको जोडमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रस्ताव अगाडि सारिएको हो । 'यसमा ढकाल र श्रेष्ठको स्वार्थ  वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणालाई अध्यक्ष बनाउने स्वार्थ मात्र लुकेको देखिन्छ ।' ती सदस्यले भने-'खुल्ला प्रतिस्पर्धा गर्नबाट यसरी रोक्ने लोकतन्त्रका लागि सुहाउने काम होइन ।' 

ती सदस्यले विशेष साधारणसभाका प्रतिनिधिले स्वविवेक प्रयोग गर्ने र विधान संसोधन  प्रस्तावको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रस्ताव अस्वीकृत हुने दाबी पनि गरे ।