काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण झन्डै ६ महिनापछि आज सोमबारबाट आन्तरिक हवाई सेवा सुरु भएको छ।

सरकारले आजबाट एअरलाइन्स कम्पनीहरुलाई २५ प्रतिशतसम्म उडानको अनुमति दिएको छ। निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्थाको रुपमा रहेको यती एअरलाइन्सले उच्च सर्तकता अपनाएर हवाई उडान सुरु गरेको छ।

एअरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा आजै पत्रकार सम्मेलन गरी हवाई उडान सुरु गरेको जानकारी गराएको हो। यससँगै पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागि ‘आन्तरिक पर्यटनका लागि सँगैसँगै’ भन्ने नारालाई अगाडि सारेको यती एअरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको छ। 

प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाण्डौ आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित बस्ने होटलको व्यवस्था मिलाएको छ। 

‘अब एअरलाइन्स उड्नमात्र होइन, घुम्न पनि’ भन्ने सन्देश आम यात्रुलाई दिनका लागि भ्रमण प्याकेज खरिद गर्ने पहिलो १०० जना खरिदकर्ता यात्रुलाई आकर्षक उपहार प्रदान गर्नुका साथै भ्रमण प्याकेज खरिदकर्ता यात्रुले सप्ताहव्यापी ‘लक्की ड्र’ मार्फतसमेत आकर्षक उपहार प्राप्त गर्नसक्ने यती एअरलाइन्सले जनाएको छ। 

यतीले आफ्नो २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एअरलाइन्स मोबाइल एप’ समेत सञ्चालनमा ल्याएको छ। अब मोबाइल एपको माध्यामबाट टिकट बुकिङ गरे विशेष छुटको व्यवस्थासमेत लिन सकिने एअरलाइन्सले जनाएको छ। एन्ड्रोइडको गुगल प्लेस्टोर र आईओएसको एप स्टोरमा गई ‘यती एअरलाइन्स’ डाउनलोड गरी एप्सका माध्यमबाट टिकट बुकिङ गर्न, स्काई क्लब माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेब चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर सजिलैसँग थाहा पाउन सकिने जानकारी दिइएको छ। 

पत्रकार सम्मेलनमा एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले कोभिड–१९ पछिको आवश्यक कार्यविधि बनाएर उडान सञ्चालन गरेको जानकारी दिए। सीईओ रिमालले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यती एअरलाइन्सले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिकाअनुरुप यती एअरलाईन्स तथा तारा एअरको छुट्टाछुट्टै कार्यविधि बनाएर सुरक्षित तवरले जहाज सञ्चालन गरेको बताए। ‘यात्राका क्रममा यात्रुलाई सुरक्षित राख्न गर्नुपर्ने अतिरिक्त सुरक्षा उपायका लागि कर्मचारीहरुलाई अभ्यस्त राख्न तालिम प्रदान गर्ने, आवश्यक उपकरणहरु खरिद गर्ने तथा उडानसम्बन्धी पूर्वाभ्यासहरु सम्पन्न गरिसकेका छौँ’, उनले भने, ‘स्वास्थ्य सुरक्षा सर्तकतासँगै निर्धक्क भएर यात्रा गर्न सकिनेछ।’

यती एअरलाइन्सले उडान हुनुभन्दा दुईघण्टा पहिला विमानस्थल पुग्न, माक्सको अनिवार्य प्रयोग गर्न, भौतीक दूरी कायम राख्न, वायुयानमा फेस भाइजरको प्रयोग गर्न, स्यानिटाइजरको प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ। एअरलाइन्सले ७० वर्षभन्दा बढी उमेरका दिर्घरोगी र गर्भवती महिलालाई सकेसम्म जहाजमा यात्रा नगर्न अनुरोधसमेत गरेको छ। तत्कालका लागि उडानमा खानपान र शौचालयको प्रयोग निषेध गरिएको एअरलाइन्सले जनाएको छ। 

यात्रालाई सुरक्षित राख्न यती एअरलाइन्सले हरेक प्रयोगपश्चात वायुयान, यात्रु ओसारपसार गर्ने सवारीसाधन, ब्यागेज ट्रली तथा उपकरणको अनिवार्य निसंक्रमण गर्ने, कार्गो तथा लगेजहरुको आवश्यकताअनुसार निसंक्रमण गर्ने व्यवस्था मिलाएको छ। 

विस २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सिटका पाँच र भगिनी संस्था तारा एअरका ट्विनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन्। यती एअरलाइन्सका विमानले हाल पोखरा, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान तथा तारा एअरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

व्यवसायभन्दा सेवालाई प्राथमिकता दिएको यती एअरलाइन्सले नेपालगन्ज र पोखरामा समेत स्थायी रुपमा विमान राखी नियमित तथा चार्टर उडानमार्फत दुर्गम क्षेत्रको विकासमा योगदान प्रदान गर्दै आएको छ।