- प्रकाश बन्जारा

यूएई । धादिङ घर भएर यूएईको पाँचतारे होटल लपिता अटोग्राफ कलेक्सनमा हेड पेस्ट्री सेफको काम गर्दै आएका सरोज थापा दसैँताका छुट्टी सकाएर फर्किंदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिए ।

विगत १८ वर्षदेखि खाडीका विभिन्न देशमा काम गर्दै आएका थापाले लामो समय यूएईमा बिताएका छन् । पासपोर्टमा म्यानेजर लेखिएको भिसा टाँसिएको छ । सरकारले निर्धारण गरेको कर तिरेर श्रम स्वीकृति पनि लिएका छन् । हातमा जहाजको टिकट र बोर्डिङ पास पनि छ । उनलाई रोकिनुको कारणबारे विमानस्थलका अधिकारीले ‘कम्पनी परिवर्तन भएको रहेछ त्योअनुसारको कागजपत्र भेटिएन’ भनेछन् ।

थापाले उक्त होटलमा काम गरेको ४ वर्ष भयो र हरेक ३ वर्षमा कम्पनीले रेसिडेन्स भिसा नवीकरण गर्छ । पहिलाको भिसामा उनको स्पोन्सर लपिता होटलको माउ कम्पनी दुबई पार्क एन्ड रिसोर्ट राखिएको रहेछ भने यसपालि लपिता अटोग्राफ कलेक्सन् । आखिर कम्पनी त एउटै हो ।

थापा कम्पनी छोडेर कतै गएका छैनन् । फेरि कसरी त्यस्तो भयो त उनलाई? विमानस्थलमा रोक्ने कर्मचारीले एक क्लिक गुगल गर्न सकेनन् या त सत्यतथ्य बुझ्ने प्रयास नै गरेनन् मात्र भिसामा स्पोन्सरको फरक नाम भएको भन्दै पुनः नयाँ कम्पनीको नाममा नयाँ श्रम स्वीकृति लिएर आउन भने । थापाले दसैँको बेलाको महँगो टिकट गुमाउनुपर्यो । निर्धारित समयमा काममा फर्किन नपाउँदा कम्पनीको नजरमा जिम्मेवारहीन हुन पर्यो अनि भीडभाड छिचोल्दै नयाँ श्रम स्वीकृतिका लागि लाइन लाग्नुपर्यो ।

हुन त थापाको पासपोर्टमा जर्मनीको पनि भिसा छ । विमानस्थलका कर्मचारीलाई छल्नै चाहे उनी जर्मनीको भिसा देखाएर छिर्न पनि सक्थे तर इमानदारिता देखाए । त्यही नै नेपालीको पहिचाहन हो ।

पेस्ट्री तथा बेकरीमा लामो अनुभव सँगालेका थापा नेपालमै यस्तो राम्रो पेस्ट्री बेकरी खोलेर बस्ने योजनामा थिए तर यो घटनापछि उनलाई नेपालमा मन मरेको छ । ‘यस्ता सरकारी कर्मचारीबाट कसरी सेवा लिएर देशमा बस्न सकिएला ?’ उनी भन्दै थिए ।  हिजोआज थापा पश्चिमा देशतिर स्थापित हुने कि भन्ने सोच बनाउँदैछन् ।

उता तनहुँ घर भएर दुबईमा विल्डिङ कन्स्ट्रक्सनको काम गर्ने शिवकुमार थापालाई कम्पनी परिवर्तन गरेर दुबई आउन ठूलै सकस पर्यो । एउटा कम्पनीमा ८ बर्ष काम गरेपछि राम्रो अवसर पाएर अर्को कम्पनीमा आउन लागेका शिवलाई श्रम स्वीकृति लिनमात्रै ५ दिन लाग्यो । १ दिनमा त श्रम स्वीकृति बनिहाल्छ भनेर फ्लाइट हुने अघिल्लो दिन काठमाण्डौ आएका शिव ६ दिनपछि दुबई उडे ।

श्रम कार्यालयका कर्मचारीले घरी यो कागज भएन भन्छन् घरी त्यो कागज भएन भन्छन् । मान्यताप्राप्त दुबईको भिसा र करार सम्झौतापत्र हातमा बोकेर कार्यालय धाउने थापाले कम्पनीले यता दुबईबाट श्रम कार्यालयमा ई–मेल गरिदिएपछि बल्ल ५ दिनपछि श्रम स्वीकृति पाए र पहिले काटेको टिकट माया मारेर अर्को टिकट काटेर दुबई आए ।

शिवको कहानी सुनिरहँदा यस्तो लाग्यो कमसेकम वर्किङ भिसा र कम्पनीले दिएको करार सम्झौतापत्र हातमा बोकेको फेरि ८ वर्षपहिले नै दुबईमा काम गरिसकेको देशको नागरिकलाई टिकटको म्याद नै सकिने गरी अल्झाउन के कुराले रोक्यो होला हाम्रो श्रमका विख्याताहरुलाई ? पहिलो चोटि जान लागेको भए त ल ठिकै छ अनुसन्धान गर्नुपर्छ पछि त्यहाँ गएर अलपत्र पर्नुभन्दा अहिलेबाटै राम्रो जाँचबुझ गर्नुपर्छ भन्ने हो तर झन्डै एक दशक त्यही देशमा बिताइसकेकालाई नि ?

विना कारण झन्झट बेहोर्ने सरोज र शिव एक्ला भने होइनन् । उनीहरु त बस एउटा गतिलो उदाहरणको पात्रमात्र हुन । सजिलै हेपिन सक्ने अथवा केही पैसा दिन नसक्नेहरु दिनै विमानस्थल र श्रम कार्यालयहरुमा दुख पाउँछन् । पैसा दिनेहरु पैसा खुवाएर नक्कली भिसा देखाएर कहाँ–कहाँ पुगिसक्छन् । 

पंक्तिकारले देखेको मेरैमात्र एउटा देश हो जहाँबाट भिसा र टिकट हातमा हुँदा पनि बिमानस्थलबाट कतै जान पाइँदैन । न त हातमुख जोर्न मिल्नेगरी देशमै रोजगारी पाइन्छ । हाम्रै छेउछाउका देशहरु भारत, पाकिस्तान, तथा अन्य देशबाट दिनै घुम्न आउने काम खोज्न आउनेहरुको ताँती हुन्छ तर हाम्रो देशले म घुम्न जान्छु भन्दा सजिलै घुम्न जान दिँदैन । म मेरो पैसा खर्च गरेर घुम्छु भिसाको मिति सकिएपछि फर्किएर आउँछु भन्दै सम्बन्धित देशको भिसा र टिकट देखाउँदा जान दिदैन तर कसै–कसैको गोजी तातो हुनेगरी सेटिङ भयो भने सहजै मज्जाले जान पाइन्छ ।

मेरो देशलाई के थाहा आफ्ना खाडी गएका नागरिक पनि दुनियाँलाई रिझाएर आफ्नो परिश्रम देखाएर डिमान्डेड भएका छन् भन्ने कुरा । देशबाट असहज र लाखौँ खर्च गर्दा पनि पुग्न गाह्रो हुने क्यानडा, अस्टे«लियाजस्ता देशहरुले सिप भएकाहरुलाई सजिलै भिसा दिन्छन् । त्यसमा पनि भान्सा तथा किचेनको काममा अनुभव भएकाहरु त खाडीका देशबाटै सजिलै थुप्रै पश्चिमा देशहरुमा गइसकेका छन् । देशबाट हुने झन्झटिला प्रक्रियाले गर्दा उनीहरु यूएईबाटै जान चाहन्छन् र उतै स्थापित हुन चाहन्छन् ।

अहिले केही समय विदेश बसेका नेपालीले अरु नसिके पनि संस्कार सिकेका छन् । आलोपालो प्रणाली सिकेका छन् । सिस्टममा चल्नुपर्छ भन्नेकुरा जानेका छन् । त्यही भएर पनि छोटो छुट्टीमा नेपाल आउँदा उनीहरुको असन्तुटिको लिस्ट नै तयार गरेर आउँछन् । भनेको ठाउँमा सम्मान नपाउनु, आफूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई उकास्नेहरुले देशमा सहजै श्रम स्वीकृति नपाउनु, जताततै बिचौलियाले ठग्नमात्र खोज्नु साथै साना कुरामा सरकारी कर्मचारीबाट दिइने दुख एकपटक विदेश गएर फर्किने नेपालीलाई विझाइरहने कुराहरु हुन । यही भएर पनि विदेशको जागिर छोडेर देशमै केही गर्छु भन्नेको कमी छ अहिले ।

मेरो देशले बुझ्नुपर्ने अर्को कुरा भनेको सम्मान हो । सबैलाई एउटै आँखाले हेर्दा चुक्न सकिन्छ त्यसैले हरेकलाई फरक आँखाले हेर्न सक्नुपर्छ मेरो देशले । खाडीमा उड्ने जहाज चढ्ने नेपालीहरु सबै लेवरमात्र छैनन् थु्रपै म्यानेजर, डाइरेक्टर, डाक्टर, इन्जिनियरजस्ता पदहरु नेपालीले ओगटेका छन् ।

कतिले आफ्नो विजनेश चलाएर बसेका छन् । त्यो पनि उनीहरुको खुबीले चलाएको व्यापार हो र उनिहरु पनि सम्मानको भागिदार हुन् । इमानदारितामा अब्बल दरिने भएकाले नेपालीलाई उपल्लो तहमै काम गर्ने भए पनि सम्मानजनक व्यवहार गरिन्छ यहाँ । श्रमको सम्मान हुने भएकै कारण पनि देशमा आफ्नो ससम्मानको पेसा छोडेर खाडीमा सरसफाइ, सुरक्षा गार्डजस्तो काम गर्न हिच्किचाहट हुँदैन ।

म्यानेजर, डाइरेक्टरजस्तो पदमा काम गर्नेहरुलाई त खाडीमा पनि फास्ट ट्रयाकमा सरकारी कामहरु हुन्छन् । कम्पनीहरुले भिसा मेडिकलनै लानुपर्दा पनि ठूलो पदकाहरुलाई मेडिकल सेन्टरमा प्रिमियम टिकट लिएर बिना लाइन काम गराउँछन् । त्यसै कारण पनि छोटो छुट्टीमा देश आउँदा उनीहरुको आत्मसम्मानमा चोट पुर्याउनु राम्रो होइन । बरु मिल्ने भए जसरी १० हजार तिरे एक हप्तामै पासपार्ट आउँछ । त्यस्तै श्रम स्वीकृतिमा पनि प्रिमियम शुल्क तिर्नेको काम फास्ट ट्रयाकमा गरेर सेवालाई छिटो र छरितो बनाउने हो भने देशले आफ्नो राजस्व बढाउन सक्छ । आफ्ना नागरिक खुसी हुन्छन् । पासपोर्टमा म्यानेजरको भिसा लगाएर दिनभरि लाइनमा बस्नुपर्दैन ।  त्यसो भन्दैमा प्रिमियम नतिरी साधारण शुल्कमात्र तिर्नेको काम पनि ढिला हुनु भने भएन ।

अन्तमा प्रवासमा रहेका नेपालीहरुलाई पनि देश विकासमा सहभागी गराउने हिसाबले देशले उनीहरुको सीपको सम्मान गर्ने खालको कार्यक्रम ल्याओस् । जसलाई सबैले ‘यो मेरो हो’ भन्ने भान गराउन सकोस् । प्रवासबाट दुःखले आर्जेको रेमिट्यान्सको सम्मान होस् । देश सही दिशामा जाओस् ।