तीन साताअघि दुर्घटनामा परेको इथियोपियन एअरलाइन्सको विमानमा अन्तिम समयमा के भएको थियो भन्ने विवरणहरू प्राप्त हुन थालेका छन्।

विमानको एन्टिस्टलिङ प्रणालीमा भएको समस्याका कारण सो दुर्घटना भएको बताइन्छ।

सो दुर्घटनामा नेपालकी एकता अधिकारीसहित १५७ जनाको मृत्यु भएको थियो।

इथियोपियाको आदिस अबाबाबाट नाइरोबी उड्नेबित्तिकै जमिनबाट १३७ मिटर माथि पुग्दा नै बोइङ ७३७ म्याक्स ८ मोडलको सो विमानको चुच्चो तल निस्किएको थियो।

वाल स्ट्रीट जर्नलका अनुसार एक विमानचालकले रेडियो सम्पर्क विच्छेद हुनुअघि 'पिच अप, पिच अप!' अरूलाई भनेको सुनिएको थियो।

अर्थात् चालकदलले विमानको चुच्चोमा भएको समस्या थाहा पाएर त्यसलाई सही ठाउँमा ल्याउने प्रयास गर्न खोजेको हुनुपर्छ।

उडेको छ मिनेटभित्रै विमान दुर्घटनाग्रस्त भएको थियो।

'गम्भीर त्रुटि'
विमान दुर्घटनाबारे भइरहेको अनुसन्धानसँग निकटस्थ व्यक्तिहरूसँग कुरा गरेको भन्दै वाल स्ट्रील जर्नलले आफूले पाएको सूचनाले विमानभित्र गम्भीर त्रुटि भएको थाहा पाएपछि चालकदल त्यसबाट अत्तालिएको सङ्केत पाइएको जनाएको छ।

इथियोपिया र अमेरिकामा भएका अनुसान्धानबारे चुहिएका सूचनाका अनुसार दुर्घटना हुँदा स्वचालित एन्टिस्टल प्रणाली सक्रिय भएको पाइएको थियो।

गत अक्टोबर महिना सोही मोडेलको विमान इन्डोनेशियामा दुर्घटनामा पर्दा उडानलाई नियन्त्रण गर्ने मन्युभ्रिङ क्यारिक्टरिस्टिक्स ओग्मेन्टेशन सिस्टम (एमसीएएस)मा पनि समस्या भएको बताइएको थियो।

जकार्ताबाट उडेको लायन एअरको सो विमान उडेको केही बेरमै दुर्घटनामा पर्दा विमानमा सवार सबै १८९ जनाको ज्यान गएको थियो।

सो दुर्घटनाबारे भएको अनुसन्धानले एन्टिस्टल प्रणालीले राम्ररी काम नगरेको र विमान समुद्रमा खस्नुअघि विमानको चुच्चो २० चोटिभन्दा बढी तल निस्किएको देखाएको थियो।

इथियोपियाली अधिकारीहरूले यी दुई विमान दुर्घटनामा "स्पष्ट समानता" देखिएको बताइसकेका छन्।

सञ्चारमाध्यममा चुहिएर आएका जानकारीबारे इथियोपियन एअरलाइन्स र सरकारी अधिकारीहरूले टिप्पणी गर्न अस्वीकार गरेका छन्।

इथियोपिया र इन्डोनेशियामा ठूला दुर्घटना भएपछि बोइङ ७३७ म्याक्स मोडलका विमानको सुरक्षाबारे प्रश्न उठेको छ।

सो मोडलका सबै विमानहरू संसारभरि उडानबाट हटाइएका छन्।

प्रणालीमा सुधार
बोइङ कम्पनीले आफ्ना विमानमा प्रयोग हुने सुरक्षाप्रणालीलाई अद्यावधिक गर्न नयाँ सफ्टवेअर बनाएको छ।

विमानमा जडित सेन्सहरूबाट विरोधाभासपूर्ण सङ्केत प्राप्त भए सो सफ्टवेअरले एमसीएएसलाई निष्क्रिय पारिदिन्छ।

यो सुधारअन्तर्गत बोइङले ७३७ म्याक्स मोडलका सबै विमानमा थप अर्को चेतावनी दिने प्रणाली हालिदिनेछ।

सेन्सरहरूबाट अमिल्दो सङ्केत आए विमानचालकलाई सतर्क बनाउने यो प्रणाली ती विमानहरूमा अनिवार्य रूपमा जडित हुँदैनथे।

दुर्घटनामा परेका दुवै विमानमा पनि यो अतिरिक्त चेतावनी प्रणाली थिएन।

यो सुधारबाट चालकले विमानलाई पुन: नियन्त्रणमा लिन खोजे एमसीएएसलाई आफैँ सच्याउन दिनेछैन।

बोइङले चालकहरूलाई सो मोडलको विमानका विभिन्न प्रणाली र कार्यविधिबारे राम्रो ज्ञान होओस् भनेर तालिममा संशोधन गर्दैछ।

गत हप्ता बोइङले प्राविधिक सुधार गर्नुको अर्थ पहिला भएको प्रणालीका कारण दुर्घटनाहरू भएको स्वीकारोक्ति गरिएको हैन भनेको थियो।

अनुसन्धानकर्ताहरूले इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाका कारणहरू पत्ता लगाइसकेका छैनन्। तर प्रारम्भिक प्रतिवेदन केही दिनमा प्रकाशित हुने अपेक्षा गरिएको छ।

दुर्घटनापछि बोइङले आफ्नो छवि सुधार्ने प्रयाग गरिरहेको छ। उसले ७३७ म्याक्स मोडलका विमानहरू सुरक्षित रहेको दाबी गर्ने गरेको छ।

-बीबीसीबाट साभार