विराटनगर । स्थानीय निकायको दोश्रो चरणको निर्वाचन अन्तरगत विराटनगर महानगरपालिकामा रोचक भिडन्त हुने देखिएको छ । कांग्रेसको गढ मानिएको यो क्षेत्रमा उसलाई टक्कर दिन एमालेले फोरम लोकतान्त्रिकसँग तालमेल गरेको छ भने माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग । कांग्रेसको किल्ला भत्काउन एमाले र माओवादीको यो प्रयासले नयाँ महानगर वा दोश्रो चरणको निर्वाचन अन्तरगतको एउटै महानगरको भिडन्तलाई निकै रोचक बनाउने देखिएको छ । 

विराटनगर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा पार्टीका पूर्व जिल्ला अध्यक्ष विनोद ढकाल चुनाव लड्दैछन् । तालमेलका कारण उनको प्यानलबाट फोरम लोकतान्त्रिककी सूचि चौधरी उपमेयरमा चुनाव लड्दैछिन् । यस्तै, माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनबाट फोरमका उमेश यादव मेयरमा चुनाव लड्दैछन् भने उपमेयरमा माओवादीकी नमिता न्यौपाने मैदानमा छिन् । कांग्रेसबाट भीम पराजुली मेयरको रुपमा उठेका छन् । 

मुख्य रुपमा कांग्रेस, एमाले र माओवादी गठबन्धनका मेयरका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस र एमालेबीच अझ ठूलो टक्कर पर्ने निश्चित छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार पाएका पराजुली यो पटकको चुनावमा समेत कांग्रेसले सहजै जित्ने दाबी गर्छन् । ‘हामीले यहाँ चुनाव सहजै जित्ने भएकोले पनि कसैसँग तालमेलको आवश्यकता परेन ।’ दाबी गर्दै उनले भने–‘जितको इतिहासलाई यसपटक पनि हामी कायमै राख्नेछौ ।’ 

तर, एमालेका मेयरका उम्मेद्वार विनोद ढकाल पराजुलीसँग सहमत छैनन् । उनले ‘विराटनगर कांग्रेसको पेवा होइन’ भन्दै बिजशालासँग भने–‘यसपटक हामी चुनाव जित्दैछौ । विराटनगरबासीले वर्षौदेखि कांग्रेसलाई जिताए, के पायो ? विराटनगरको दुुर्दशा हेर्दा थाहा पाइन्छ–कांग्रेसलाई जिताउनुको परिणाम ।’ उनले कांग्रेसकै असक्षम नेतृत्व र अदूरदर्शी राजनीतिका कारण कुनै बेला मुलुककै दोश्रो ठूलो शहरको रुपमा चिनिएको विराटनगर ओझेलमा परेको दाबी गरे । ‘विराटनगरको बाटोघाटोको अवस्था हेर्दा पनि थाहा हुन्छ, पटक–पटक चुनाव जितेको कांग्रेसले के गर्यो भन्ने कुरा ।’ उनले भने–‘अब जनताले एमालेलाई एकपटक हेर्न चाहेका छन्, जनचाहना अनुसार यसपटक एमाले त आयो आयो ।’ 

माओवादी समेतको समर्थनमा मेयरमा चुनाव लडेका उमेश यादव भने यसपटक जनताले नयाँ राजनीतिक शक्तिलाई एक मौका दिने दाबी गरे । ‘हामी(माओवादी र संघीय समाजवादी फोरम) स्थानीय निर्वाचनका लागि नयाँ पार्टी हौ, यो हाम्रो पहिलो अनुुभव पनि हो ।’ उनले भने–‘एमाले र कांग्रेसले विगतमा केही गर्न सकेनन्, जनताले हामीलाई एक मौका दिनेमा ढुक्क छु।’ 

कसको के एजेण्डा ?
कांग्रेसले विराटनगरलाई शान्त, स्वच्छ र हराभरा महानगर बनाउने मुद्धालाई अगाडि सारेको छ । २ वर्षभित्र ढल निकासको व्यवस्था गर्ने, महानगरका सबै कच्ची सडकलाई ५ वर्षभित्र पक्की(कालोपत्रे) बनाउने, वडाबाट छनौट भएका योजनालाई उच्च प्राथमिकता दिने, ५ वर्षभित्र विराटनगर विमानस्थललाई क्षेत्रीय र १० वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको बनाउने, वैजनाथपुरमा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माण गर्ने, विराट राजाको दरबारलाई विश्व सम्पदा सूचिमा सामेल गराई पर्यटनको विकास गर्ने, २ वटा सामुदायिक स्कूललाई नमूनाको रुपमा विकास गरी निजीसँग प्रतिस्पर्धी बनाउने र क्रमशः अन्य सामुदायिक विद्यालयलाई समेत स्तरउन्नति गर्ने, कोशी अस्पताललाई ५ वर्षभित्र क्षेत्रीय अस्पताल बनाउने र १० वर्षभित्र मेडिकल कलेजको रुपमा विकास गर्ने कांगे्रसका चुनावी एजेण्डा छन् । ‘हामी विराटनगरलाई औद्योगिक हबको रुपमा समेत विकास गर्नेछौ ।’ कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार भीम पराजुलीले भने–‘बन्द भएको विराटनगर जुट मिललाई पुनः संचालन गर्छौ, अन्य रुग्ण उद्योगलाई समेत कर छुट र अन्य सुविधा दिएर पूर्ण क्षमतामा संचालन गरी दशौं हजार रोजगारको अवसर सिर्जना गर्नेछौ ।’ 

एमालेले भने आवश्यक भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न प्रदेश नम्बर १ को प्रादेशिक राजधानी सहरको रुपमा विराटनगरलाई विकास गर्ने एजेण्डा प्रस्तुुत गरेको छ । पछिल्लो समय ओझेलमा परेको विराटनगरलाई पुनः पहिचान दिने गरी काम गर्ने, औद्योगिक राजधानीको रुपमा विकास गर्ने, किमाथांका–जोगवनी जोड्ने राजमार्ग(कोशी राजमार्ग) निर्माणलाई तीव्रता दिई चीनसँगको गेट्वे खुल्ला गर्ने र विराटनगरलाई विभिन्न देशसँगको व्यापारको ट्रान्जिट बनाउने, आकाशे पुल निर्माण गर्ने, विराटनगरलाई मेगासिटीको रुपमा विकास गर्ने, महानगरभित्रका सबै फूसका छानालाई एकवर्षभित्र टिनको छानामा रुपान्तरण गर्ने, सामुदायिक शिक्षालाई प्रतिस्पर्धी क्षमताको बनाउने, व्यवस्थित डम्पिङ साइटको निर्माण गरी त्यहाँबाट उर्जाको उत्पादन र खाद मल समेत उत्पादन गर्ने, अन्य नगरपालिकासँग समन्वय गरी विराटनगरदेखि धरानसम्म मेट्रो तथा ट्रली बस संचालन गर्ने, सहरको सफ्टवेयर विकास गर्ने लगायतका एजेण्डा एमालेको छ । एमालेले विभिन्न चरणमा गर्न सकिने कामको सूचि नै तयार गरी घोषणापत्र जारी गरेको छ । एमालेले ५ वर्षभित्र विराटनगरलाई पुनः देशकै दोश्रो ठूलो शहर बनाउने रणनीतिक योजना समेत पेश गरेको छ । 

यस्तै, माओवादीसँग तालमेल गरी मेयरमा चुनावी मैदानमा रहेका संघीय समाजवादी फोरमका उमेश यादवले २ वर्षभित्र विराटनगर महानगरका सबै सडकलाई कालोपत्रे बनाउने बताए । शिक्षामा समान अवसर वृद्धि गर्ने, स्वास्थ्य क्षेत्रमा भइरहेको लुट अन्त गरी हरेक वडामा एमबिबिएस डाक्टरको व्यवस्था गर्ने, उद्योगमैत्री वातावरण बनाउने, घरघरमा रोजगारीको अवसर सिर्जना गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, विराटनगरलाई १ वर्षभित्र सुकुम्बासीमुक्त शहर बनाउने, व्यवस्थित बालउद्यानको निर्माण गर्ने, पार्किङस्थल समेत निर्माण गर्ने र औद्योगिक करिडर बनाउने लगायतका एजेण्डा उनले पेश गरेका छन् । ‘हामी विराटनगरलाई सक्षम र शक्तिशाली शहर बनाउनेछौ ।’–यादवले भने ।

माओवादी केन्द्रको तर्फबाट उपमेयरमा चुनाव लड्दै गरेकी नमीता न्यौपानेले विराटनगरका खाल्डा परेका सडकलाई भरपर्दो मर्मत गरी सरर साइकल कुद्नसक्ने बनाउने बताइन् । बाटो र कल्भर्टको समस्या समेत आउने पुस्ताले सुन्न नपर्ने गरी समाधान गर्ने, विराटनगरलाई पूर्ण साक्षर बनाउने, हालसम्म बिजुलीको पोल समेत पुुग्न नसकेका टोलमा बिजुली पुर्याउने लगायतका एजेण्डा उन(माओवादी)को छ ।