विराटनगर । दोश्रो चरणको चुनावको अन्तिम प्रचारप्रसार र घरदैलो अभियानमा जुटेका प्रमुख दलहरुबीच विराटनगर महानगरपालिका र छिमेकको इटहरी उपमहानगरपालिकामा घात–अन्तर्घातले अपेक्षित परिणाम नै उल्टाइदिने पीर देखिएको छ । विशेषगरी विराटनगरमा एमाले र इटहरीमा कांग्रेसभित्र अन्तर्घातको लप्काले संभावित परिणाम नै प्रभावित हुने देखिएको हो । 

विराटनगर उपमहानगरपालिकामा एमालेको तर्फबाट विनोद ढकाल मेयरका उम्मेद्वार छन् । कांग्रेसबाट भीम पराजुली चुनावी मैदानमा छन् । माओवादी र संघीय समाजवादी फोरमको संयुक्त प्यानलबाट उमेश यादव मेयरमा भिड्दैछन् । कांग्रेस एक्लै चुनावी मैदानमा छ भने उसलाई टक्कर दिने भन्दै एमालेले फोरम लोकतान्त्रिकसँग सहकार्य गरेको छ । तर, एमालेका लागि यही सहकार्य ब्याकफायर हुने र यही निहुँले धेरै कार्यकर्ताबाट अन्तर्घात हुने अवस्था देखिएको छ । 

फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेको कुरा धेरै कार्यकर्तालाई चित्त नबुुझेको पाइएको छ । ‘तालमेलकै कारण एमाले पछि पर्ने अवस्था देखियो ।’ विराटनगरका एक राजनीतिक विश्लेषकले बिजशालासँग भने–‘पार्टीभित्र विनोद ढकालका विरोधीहरु समेत धेरै छन्, उनीहरुले असहयोग गर्ने त निश्चित नै छ, लोकतान्त्रिकसँगको सहकार्यले थप कार्यकर्ता भड्किएका छन् ।’ 

विराटनगरका माधव नेपाल पक्षीय कार्यकर्ताहरु पार्टीमा धेरै मेहेनत गरेका अगुवा महिला कार्यकर्तालाई अवसर दिन छाडेर अर्थहीन तालमेलका नाममा फोरम लोकतान्त्रिकलाई उपमेयर जिम्मा लगाइएको बिषयलाई उछालिरहेका छन् । ‘फोरम लोकतान्त्रिकसँग सहकार्य गरेर हामीलाई कुनै फाइदा छैन ।’ नेपाल पक्षीय एक एमाले नेताले भने–‘फोरम लोकतान्त्रिक विराटनगरमा बलियो शक्ति पनि होइन, सो दलका कार्यकर्ताले भोट एमालेलाई हाल्ने अवस्था छैन ।’ फोरम लोकतान्त्रिकले गठबन्धनको तर्फबाट उपमेयरमा सूचि चौधरीलाई प्रस्तुुत गरेको छ । 

अगुवा कार्यकर्ताको बुुझाईमा एमालेसँगको सहकार्यबाट फोरम लोकतान्त्रिकले समेत भोट नपाउने अवस्था छ । यसको सोझो फाइदा माओवादीको तर्फबाट उपमेयरकी उम्मेद्वार नमीना न्यौपानेलाई हुने देखिन्छ । एमाले कार्यकर्ताहरु भन्छन्–‘सूचि चौधरीलाई भोट हाल्न छाडेर एमाले कार्यकर्ताले नमीतालाई मतदान गर्ने अवस्था छ ।’ यसरी पार्टीको गलत तालमेलका कारण माओवादीलाई फाइदा पुुग्ने भन्दै नेपाल पक्षीय एमालेका स्थानीय नेता रुष्ट छन् । 

ओली पक्षबाट मेयरको टिकट पाएका विनोद ढकाल पक्ष भने फोरम लोकतान्त्रिकको प्रतिबद्ध मतदाता संख्या ६ हजारको हाराहारीमा रहेको र त्यसमध्ये आफूहरुलाई ३ हजार मात्रै मत खसे पनि ५ देखि ७ सयको अग्रतामा आफूहरुले विराटनगरको राजनीतिक इतिहासमा विजयी सुरुवात गर्ने विश्लेषण गरेर बसेको छ । ‘विराटनगर कांग्रेसको पेवा होइन ।’ विनोद ढकाल भन्छन्–‘यसपटक शानदार मतसहित एमालेले जितको झण्डा गाड्दैछ ।’

विराटनगर महानगरमा माओवादी र संघीय समाजवादी फोरमको गठबन्धन खासै बलियो शक्ति होइन । यी दुवै शक्ति मिले पनि ठूलो फाइदा नहुने देखिन्छ । यसर्थ, यो क्षेत्रमा प्रमुख प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हो । 

कांग्रेस चाहि विराटनगरमा निकै ठूलो आत्मविश्वाससहित चुनावी मैदानमा होमिएको पाइएको छ । ‘विराटनगर हाम्रो पकड क्षेत्र हो, अन्य सबै दल मिलेर एकैठाउँमा उभिए पनि हामी सहजै चुनाव जित्छौ ।’ मेयर पदका उम्मेद्वार भीम पराजुलीले भने–‘हाम्रो अवस्था बलियो भएकै कारण अरुसँग तालमेलको आवश्यकता देखेनौ ।’ 

इटहरीमा कांग्रेसलाई पीर


विराटनगरको छिमेकी उपमहानगरपालिका इटहरीमा कमजोर कांग्रेस टिकट वितरणपछिको असन्तुष्टिको सम्पूर्ण व्यवस्थापन गर्न नसक्दा थप कमजोर हुने देखिएको छ । 

यो क्षेत्रमा कांग्रेसको तर्फबाट मेयर पदमा व्यापारी रोहित प्रसाईं उम्मेद्वार छन् । दशकअघि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भए पनि त्यसपछि लामो समयसम्म कांग्रेसमा सक्रिय नभएका र व्यापार व्यवसायमै केन्द्रीत प्रसाईंलाई टिकट दिइएपछि लामो समयदेखि इटहरीमा रहेर कांग्रेसलाई बलियो बनाउने श्रेय पाएका नगरका पार्टी सभापति हेमकर्ण पौडेल पक्ष रुष्ट छ । 

प्रसाईंले उम्मेद्वारी पाएपछि कांग्रेस कार्यकर्ताहरुको ठूलो समूह सडकमै उत्रिएर विरोध प्रदर्शन गरेको थियो । त्यसबेला कांग्रेस कार्यकर्ताको एउटै स्वर थियो–‘प्रसाईंलाई पार्टीभित्रकै कार्यकर्ताले समेत चिन्दैनन्, पार्टीभित्रै परिचय नबनाएका उनले अरुतिरबाट पनि भोट ल्याएर जित्ने अवस्था छैन । पार्टीले टिकट वितरणमा गलत निर्णय गर्दा यसपटक कांग्रेस लाजमर्दो ढंगले हार्ने भयो ।’ 

हेमकर्ण पौडेलले राजनीतिक उदारता देखाएर रोहित प्रसाईंलाई सहयोग गरेको जस्तो देखिए पनि उनी पक्षधर ठूलो जमात प्रसाईंलाई भोट नहाल्ने मनस्थितिमा देखिन्छ । यसरी हेर्दा पौडेल पक्षबाटै प्रसाईंलाई ठूलो अन्तर्घात हुने स्पष्ट तस्वीरहरु देखिएका छन् । यो कारणले समेत इटहरी उपमहानगरपालिकामा कांग्रेसले जितको इतिहास बनाउने अवसर यो पटक पनि गुमाउन सक्छ ।

अर्कोतर्फ, यदि काठमाण्डौमा झै साझा पार्टीका उम्मेद्वारले केही मत ल्याए भने त्यसको सोझो प्रभाव कांग्रेसलाई पर्ने देखिन्छ । कारण, साझा पार्टीको तर्फबाट उपमेयरमा उम्मेद्वारी दिएका प्रकाशचन्द्र परियार कांग्रेसको तर्फबाट महासमिति सदस्यमा निर्वाचित व्यक्ति हुन् । तरहरा लगायतका क्षेत्रका अधिकांश कांग्रेसका भोट तथा दलित समुदायभित्रका कांग्रेसी भोट समेत उनले राम्रै अंकमा काट्ने देखिन्छ । यसले रोहित प्रसाईं थप पछाडि पर्नेछन् भने यसको एकमुुष्ट फाइदा एमालेलाई हुनेछ । 

एमाले इटहरीमा पहिलो शक्ति हो । उसले यहाँ वर्षौदेखि लगातार जित हासिल गर्दै आइरहेको छ । यो पटक पनि एमाले आफूहरुले जित्नेमा ढुक्क छ । ‘हामी ५ हजार बढी मत अन्तरले जित हासिल गर्दैछौ ।’ एक एमाले नेताले भने–‘हेमकर्ण पौडेल उम्मेद्वार बन्दा हामीले कडा प्रतिस्पर्धा गर्नुपथ्र्यो, प्रसाईले टिकट पाएपछि हामीलाई धेरै सहज भयो ।’ 

तर, कतिपय विश्लेषकहरु भने एमालेले समेत टिकट वितरणमा बुद्धिमता नपुर्याएको दाबी गर्छन् । एमालेले यो क्षेत्रमा पार्टीका जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीलाई मेयरको टिकट दिएको छ । उपमेयरमा लक्ष्मी गौतम मैदानमा छिन् । चौधरीले उनकै समुदायको ठूलो मत पाउने एमाले विश्लेषण देखिन्छ । तर, कांग्रेस र माओवादीले जातीय एकताको मुद्धालाई चौधरीलाई देखाउँदै भित्रभित्रै भाइरल बनाएका छन् । यदि जात विशेषलाई मात्र हेरेर मतदाताले आफ्नो निर्णय गरे भने एमालेलाई गाह्रो पर्ने अवस्था रहेको ती विश्लेषक दाबी गर्छन । ‘जातीय कुरालाई बढी उछालियो भने यो क्षेत्रका बाहुनक्षेत्रीले प्रसाईलाई मत हाल्नेछन् ।’ ती विश्लेषकले भने–‘जनजातिको मत माओवादीले पाउनेछ भने चौधरीको मत एमालेले ।’ यस्तो भयो भने चुनावमा कसले बाजी मार्छ, ठ्याक्कै भन्न सकिने अवस्था नरहने ती विश्लेषक दाबी गर्छन् । 

तर, एमाले नेताहरु यो कुरा स्वीकार गर्न तयार छैनन् । उनीहरुले एमाले मत प्रतिबद्ध कार्यकर्ताको मत रहेको र कांग्रेसजस्तो मास बेस्ड पार्टी नरहेका कारण यो दलभित्र जात, वर्ण, क्षेत्र नहेरिने दाबी गरे । ‘द्वारिकजी त्यही समुदायको भएको हिसाबले चौधरीहरुबाट धेरै मत स्वभाविक रुपमा आउँछ ।’ एमालेका एक जिल्ला नेताले भने–‘अन्य समुदायको मत समेत क्रस हुँदैन, हाम्रा कार्यकर्ता पार्टी लाइनप्रति प्रतिबद्ध र इमानदार छन् ।’ 

एमाले नेताहरुले जित्ने पूर्ण विश्वास व्यक्त गरे पनि सो पार्टीभित्रको असन्तुष्टि पनि कम छैन । वडाध्यक्षहरुको टिकट वितरणको क्रममा एमालेभित्र पनि चरम असन्तुष्टि रहेको देखिएको छ । मेयरको टिकट पाएपछि ओली पक्षका द्वारिकलाल चौधरीले बाँकी सिटको टिकट माधव नेपाल पक्षलाई जिम्मा लगाएका भन्दै ठूलो समूह उनीबाट रुष्ट रहेको पाइएको छ । वडाअध्यक्ष तथा सदस्यमा उम्मेद्वारको छनौटमा कांग्रेसबाट पार्टीमा प्रवेश गरेका, माओवादीमा गएर फिर्ता भएकाहरुले अवसर पाएका भन्दै इमानदार कार्यकर्ता रुष्ट छन् । उनीहरुको असन्तुष्टिलाई व्यवस्थापन गर्नुपर्ने निकै ठूलो चुनौति एमालेलाई देखिएको छ । बेलैमा त्यो असन्तुष्टिको व्यवस्थापन गर्न सकेन भने एमालेलाई निकै ठूलो घाटा लाग्ने पार्टीभित्रका अग्रजहरु दाबी गर्छन् ।