काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत बजेटमा बिमाको धेरै ठाउँ चर्चा भए पनि जीवन बिमाहरुका लागि भने अपेक्षित बन्न नसकेको नेपालको टप जीवन बिमा कम्पनीका सीइओले बताएका छन् । 

नेपाल लाइफ इन्स्योरेन्सका सीइओ विवेककुमार झाले बिजशालासँग कुरा गर्दै बजेट वक्तव्यको धेरै ठाउँमा बिमाको प्रसंग आए पनि जीवन बिमा व्यवसायलाई समेट्ने र यो क्षेत्रको प्रोत्साहनका लागि अपेक्षित कार्यक्रम नआएको प्रतिक्रिया दिए । 

‘बिमा भन्ने कुरा महत्वपूर्ण र अत्यावश्यक हो भन्ने विषय चाहि बजेट वक्तव्यबाट समेत बुझाउने काम भएको छ । यो स्वागतयोग्य छ ।’ उनले भने–‘बजेटमा बिमाको दायरा जनसंख्याको ४० प्रतिशतमा पुर्याउने जुन लक्ष्य लिइएको छ, त्यसलाई प्रोत्साहन गर्ने खालको कर छुट लगायतका सहुलियत र प्रोत्साहन गर्ने कुरा आएनन् । यस्ता विषय पनि आएका थिए भने निर्धारित समयमै ४० प्रतिशतको लक्ष्य पूरा गर्न सहजता हुन्थ्यो कि ?’

उनले आन्तरिक ऋण उठाउने कुरा बजेटमा समेटिएको र  आउँदा दिनमा त्यसमा जीवन बिमा क्षेत्रलाई समेत समेट्न सकिने र त्यस्तो कुनै बोण्ड जारी गर्ने अवसर सिर्जना गर्न सके त्यसले आफूहरुलाई प्रोत्साहित गर्ने बताए । ‘बजेटले जीवन बिमा सेक्टरका इस्यूहरुलाई पनि अलिक बढी समेट्न सकेको भए अझ राम्रो हून्थ्यो । तर, समग्रमा बिमा क्षेत्रका लागि चाहि राम्रै छ ।’ उनले थपे ।

बजेटमा ‘कोभिड बिमा’ भन्ने नयाँ शब्द आएको र सरकारी कर्मचारी तथा कोरोनाविरुद्धको लडाईमा अग्रपंक्तिमा काम गरिरहेकाहरुलाई यस्तो बिमा गरिदिने तथा त्यसमा सरकारले अनुदान दिने लगायतका विषय समेत राम्रा भएका उनको प्रतिक्रिया छ । 

कोरोना भाइरसको प्रकोपबाट ग्रस्त मुलुकको स्वास्थ्य, कृषि जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउनु पनि सुखद पक्ष नै रहेको उनको विश्लेषण छ ।