काठमाण्डौ । अमेजनका संस्थापक ५३ वर्षीय जेफ बेजोस बिहीबार माइक्रोसफ्टका बिल गेट्सलाई पछार्दै विश्वकै सर्वाधिक धनी बन्न सफल भएका छन् । 

ब्लुमबर्गका अनुसार उनी ९०.९ अर्ब डलर सम्पत्तिको साथमा विश्वकै सर्वाधिक धनी बन्न सफल भएका हुन् । सेयरमा आएको उछालसँगै विश्वको सर्वाधिक धनी बन्न सफल बेजोसको जिन्दगी यसअघि अहिलेकोजस्तो शानदार र सुविधासम्पन्न थिएन । 

१६ वर्षीया किशोरी आमा तथा जीवनबाट हारेका बुुबाको सन्तान बिजोसको कथा त्यस्तो आम मानिससँग मिल्छ, जो निम्न स्तरमा जन्मिएर जीवनमा निकै ठूलो बन्ने सपना बुनिरहेको हुन्छ । 

पत्रकार ब्रेड स्टोनको पुस्तक ''द एभ्रीथिंग स्टोर: जेफ बिजोस एण्ड द एज अफ अमेजन''का अनुसार १२ जनवरी, १९६४ मा जन्मिएका अमेजनका सीइओ जेफ जैविक पिता जोर्गेनसेनको उनकी आमा ज्याकलिनसँग भेट भयो र दुवै डेटिंगमा गए । त्यसबेला ती दुवै हाइस्कूलका विद्यार्थी थिए । त्यसबेला जेफका बुुबा १८ वर्षका र आमा १६ वर्षको मात्र थिए । यही क्रममा ज्याकलिन गर्भवती भइन् र दुवै मातापिताको पैसा चोरेर मेक्सिको भागे र त्यहाँ गएर विवाह गरे । 

त्यहाँ बेजोसका पिता जोर्गेनसेन एक रिटेल स्टोरमा काम गर्न थाले र प्रतिघण्टा १.२५ डलर कमाउन थाले । यो धेरै ठूलो कमाई थिएन । काम गरेसँगै जेफका बुुबा रक्सीको लतमा नराम्ररी फस्दै गए । 

जेफ बेजोस त्यसबेला १७ महिनाका थिए, जतिबेला उनकी आमा ज्याकलिनले जोर्गेनसेनसँग सम्बन्धबिच्छेद गरिन् । सन् १९६८ मा ज्याकलिनले मिगुुएल बेजोससँग दोश्रो विवाह गरिन् । जो सन् १९६२ मा क्यूूबाबाट आएका थिए र अंग्रेजीको मात्र एउटा शब्द जान्दथे, त्यो थियो: ह्यामबर्गर । 

ज्याकलिनले अर्कोलाई रोजेपछि जोर्गेनसेनले बेजोसलाई ४ वर्षको उमेरमा आफूसँग राख्ने निर्णय लिए र उनको नाम जेफ्री प्रेस्टोन बेजोस नाम दिए । बेजोसको बायोग्राफी लेख्ने ब्रेड स्टोनलाई मान्ने हो भने बाल्यकालमा बेजोसले जस्तो दुःखको सामना गर्नुपर्यो, त्यसैबाट उनी यति धेरै बलिया र सफल बने । उनको यो सफलताको सुरुवाती आधार पनि त्यही दुःख थियो ।