काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजनका मुख्य कार्यकारी जेफ बेजोसले आफ्नो जिन्दगीका केही ऐतिहासिक पलहरुको विषयमा खुलासा गरेका छन् । 

एजेन्सीहरुले जेफलाई उद्धृत गर्दै भनेका छन् कि उनका पिता अमेरिकाका स्थायीबासी होइनन् । उनका पिता १६ वर्षको उमेरमा क्यूबाबाट फ्लोरिडा पुगेका थिए । 

जेफका अनुसार सन् १९६२ मा उनका पिता माइक एक्लै अमेरिका आएका थिए र त्यसबेला उनी टूटेफुटेको अंग्रेजी मात्र बोल्न जान्दथे । तर, उनले लाख संघर्षपछि पनि कहिल्यै हार खाएनन् र अमेरिकामा जीवनको सुरुवात गरे । 

‘यो मेरा लागि गर्वको क्षण समेत हो ।’ बेजोसले भनेका छन्–‘मेरा पिताको त्यही दृढ निश्चयीपनकै कारण आज हामीले जीवनका सुनौला दिनहरु देख्न पाइराखेका छौ ।’

जेफले आफ्ना पिता अमेरिकामा एक सपना लिएर आएका र सो सपना आज पूरा भएको समेत बताएका छन् । ‘बुबाकै प्रेरणाले मैले अमेजनजस्तो कम्पनीको सुरुवात गरेँ र आज सबैभन्दा धनी व्यक्ति बन्न सफल भएँ ।’ उनले भनेका छन् ।  

जेफले एक ट्वीट गर्दै आफ्ना पिता १६ वर्षको उमेरमा अमेरिका छिर्दा स्पेनिश लवजमा मात्र बोल्न सक्थे भनेका छन् । ‘उहाँको दृढ निश्चयीपन र आशावादी नजर नै मेरा लागि सबैभन्दा ठूलो प्रेरणाको स्रोत हो ।’ बेजोसले भनेका छन्  । 

जेफ बेजोसले आफ्ना पिताको जिन्दगीको शानदार यात्राको सेलिब्रेट गर्नका लागि ट्वीट र एक भिडियो समेत सोसल मिडियामा सेयर गरेका छन् । 

जेफले भनेका छन् कि अमेरिकामा आफ्ना पिताको जीवन यापन यो कुराको साक्षी हो कि त्यहाँका मानिस कसरी एकअर्कालाई सहयोग गर्दा रहेछन् । 

जेफले अर्को एक खुलासा समेत गरेका छन् । माइक बेजोस उनका असल पिता भने होइनन् । तर, माइकले नै बेजोसलाई एउटा नाम दिए, यसमा बेजोसले निकै खुशी व्यक्त गरेका छन् । जेफलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा भनिएअनुसार जब उनी ४ वर्षका थिए, तब उनकी आमा ज्याकलिन गिसेले माइक बेजोससँग विवाह गरिन् । 

बेजोसले आफ्ना पिताको संघर्षपूर्ण र अभावग्रस्त विगत सम्झदै भनेका छन्–‘जब मेरा पिता अमेरिका आउनुभएको थियो, त्यसबेला उहाँसँग ३ वटा शर्ट, ३ पेन्ट र एकजोर जुत्ता मात्र थियो ।’