नयाँदिल्ली : स्विट्जरल्यान्डको दाबोसजस्तै बर्फिलो मौसमका साथै स्किइङ खेल हुने भारत उत्तराखण्डको औली पर्यटकीय क्षेत्रका रुपमा निकै चर्चित छ । अहिले यही क्षेत्रमा पहिलोपटक करिब ३२० करोड खर्च हुन लागेको एक चर्चित उद्योगपतिका छोराहरुको शाही विवाह समारोहले औली चर्चा झनै चुलिएको छ । 

विश्वमै यत्रो ठूलो धनराशि खर्च गरेर हुन लागेको यो शाही विवाहको चर्चा अहिले विश्वभर भाइरल बनेको छ । भारतीय मूलका दक्षिण अफ्रिकाका चर्चित उद्योगपति गुप्ता बन्धुहरुका दुई छोराहरुको विवाह समारोह शुक्रबारदेखि सुरु भइसकेको छ । विवाहमा निम्तालुका लागि विशेष व्यवस्था गरिएको छ। निम्तालुहरुको स्वागतका लागि औली क्षेत्रमा पाँच करोड रुपैयाँको विदेशीबाट फूल ल्याएर सजाइएको छ ।

विवाहका लागि फिल्मी तरिकाको सेट सजाइएको छ । यतिमात्र होइन विवाहको कार्ड पनि निकै अनौठो छ, जुन पाँच किलो चाँदीले बनाइएको छ। विवाह कार्डमा औली क्षेत्र र बदरीनाथधामको तस्बिर पनि राखिएको छ।  

विवाह समारोहका लागि औलीस्थित होटेल क्लिप टपलाई विभिन्न किसिमका बत्तीले सजाइएको छ। विवाहमा भारतीय फिल्मी क्षेत्रका चर्चित हस्तीहरु अनिल कपुर, ज्याकलिन, कैटरिना केफ, सिद्धार्थ मल्होत्रा, शाहिद कपुरजस्ता कलार ओली आउने कार्यक्रम छ । बलिउडका चर्चित कलाकारहरुले यस शाही विवाहमा आआफ्नो प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम पनि छ । 

शाही विवाहको निम्तालुका रुपमा योगगुरु रामदेव पनि छन् । 

विवाह समारोह सम्पन्न गर्न एक सयजना पण्डितको टोली बोलाइएको छ। जसमा अवधेशानन्द महाराज मुख्य पुजारीका रुपमा रहनेछन् । विवाहमा कथा वाचक रमेश भाइ ओझा पनि सहभागी हुँदैछन् । 

शाही विवाहमा भारतसहित देशभरका ४०० भन्दा बढी परिकारको भोजन तयार गरिनेछ । 
विवाहपछि उद्योगपति गुप्ताका दुवै छोराका दम्पतीहरु भगवान शिव र माता पार्वतीको आशीर्वाद लिन त्रियुगीनारायण जानेछन् । – एजेन्सीबाट