काठमाण्डौ । दुबईको मरिनामा गत साता विश्वकै सबैभन्दा महँगो लेडिज जुत्ता प्रदर्शन गरियो । जसको मूल्य सुनेर त्यहाँ उपस्थित अवलोकनकर्ता जिब्रो तोक्न बाध्य भए ।

उक्त जुत्ताको मूल्य थियो, करिब २२६ करोड रुपैयाँ (१.९९ करोड डलर) । गत शुक्रबार मरिनास्थित एउटा लग्जरी याटमा उक्त जुत्ता लन्च गरिएको थियो ।

प्रदर्शनीसँगै उक्त जुत्ता अहिलेसम्मै सबैभन्दा महँगो भएको दाबासहित गिनिज वल्र्ड रिकर्डसमा दर्ता गरिएको छ । यसअघि १७६ करोड रुपैयाँ (११० करोड) पर्ने जुत्ता गिनिजी वल्र्ड रिकर्डसमा दर्ता थियो ।

मरिनामा प्रदर्शन गरिएको सर्वाधिक महँगो जुत्ताको नाम ‘द मुन स्टार’ नाम दिइएको छ । यसमा ३० क्यारेटका ससाना हीरा र सन् १५७६ मा अर्जेन्टिनामा भेटिएको उल्कापिण्डका ससाना टुक्रा जडित छन् । यो जुत्ता इटलीका विख्यात डिजाइनर एन्तोनियो विएत्रीले डिजाइन गरेका हुन् ।

डिजाइनर विएत्री भने यो जुत्ता कुनै रिकर्ड बनाउने ध्यानमा डिजाइन गरेका भने होइनन् । यसअघि सन् २०१७ मा उनले २४ क्यारेट सुनको जुत्ता बनाइसकेका छन् । जसको मूल्य ३६.८ लाख रुपैयाँ रहेको थियो । – एजेन्सी