काठमाण्डौ । विश्वकै ठूलो ई–कमर्स कम्पनी अलीबाबाले नोभेम्बरको अन्तिम सातासम्म १५ अर्ब अमेरिकी डलरबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

हङकङको सेयरबजारमा लिस्टिङका लागि अलीबाबाले आईपीओ निष्कासन गर्न लागेको हो । आउँदो बिहीबार अलीबाबाले हङकङको सेयर लिस्टिङ कमिटीसँग आईपीओ निष्कासनको अनुमति लिने समाचार स्रोतहरु बताउँछन् ।

अलीबाबाको आईपीओले हङकङको आर्थिक गतिविधि बढ्ने अनुमान लगाउन थालिएको छ । अहिले हङकङमा सरकारविरोध आन्दोलनका कारण आर्थिक गतिविधि डामाडोल बनेको छ ।

अलीबाबाले निष्कासनको तयारी गरिरहेको यो दोस्रो आईपीओ विश्वकै सबैभन्दा ठूलो धनराशिको हुनेछ । अलीबाबाले यसअघि सन् २०१४ मा अमेरिकाको सेयर बजारमा लिस्टिङका बेला जारी गरेको आईपीओबाट २५ अर्ब अमेरिकी डलर जम्मा गरेको थियो ।

अलीबाबाले गत अगस्टमै हङकङमा सेयर लिस्टिङ गर्ने योजना बनाएको थियो। तर त्यहाँ सरकारविरोधी प्रदर्शनका कारण आर्थिक र राजनीतिक अनिश्चितताका कारण अलीबाबाले आईपीओ निष्कासनको तयारी केही समय धकेल्नुपरेको थियो । – एजेन्सी