विश्वकै ठूलो इकमर्स कम्पनी अलिबाबाको ‘सिंगल डे सेल’को शुरुवात भएको ३० मिनेट भित्रै १० अर्ब डलरको कमाई भएको छ । 

सेल शुरु भएको १ मिनेट ८ सेकेन्ड भित्र १ अर्ब डलरको ग्रस मर्चेन्डाइज भ्यालुको सेल भएको छ । जब कि १० अर्ब डलरको कमाइ हुनलाई जम्मा २९ मिनेट ४५ सेकेन्ड मात्रै लागेको छ । सुरुवाती दुई घन्टामा १७.२४ अर्ब डलरको कमाइ भएको छ जो सन् २०१६ को सिंगल डे सेलको कुल बिक्री भन्दा पनि बढी रहेको एजेन्सीहरुले जनाएका छन् ।

यो सेलमा जापान, अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, जर्मनी, ब्रिटेन, र फ्रान्स जस्ता ठूला व्यापारिक देशहरुले आफ्नो उत्पादनहरु बिक्रीका लागि राखेका छन् ।

अलिबाबाका अनुसार प्रति सेकेन्ड पिक सेलमा ५४४००० अर्डर आएको छ जुन सन् २००९ को पहिलो सिंगल डे सेलभन्दा १३६० गुणा बढी हो । पछिल्लो वर्षको सेलमा ३०.८ अर्ब डलरको ऐतिहासिक कमाई भएको थियो । 

यो वर्षको सिंगल डे सेलमा ७८ देश तथा क्षेत्रबाट २२ हजार भन्दा बढी अन्तराष्ट्रिय ब्रान्डहरु सामेल भएका छन् । यो सेल अलिबाबाको डेडीकेटेड च्यानल टिमल ग्लोबलमा आयोजना गरिएको छ । टिमल ग्लोबल इम्पोर्ट एक्सपोर्टका जनरल म्यानेजर एल्विन ल्युले यो वर्षको सेलले पुराना थुप्रै रेकर्डहरु तोड्ने दाबी गरे । ल्युका अनुसार यो वर्षको सिंगल डे सेलमा भएको कारोबार पछिल्लो वर्षको तुलनामा ११३ प्रतिशतले बढी हो । जम्मा एक घन्टा ४७ मिनेटमा नै पछिल्लो वर्षको सम्पूर्ण रेकर्डहरु तोडिएका छन् । 

सिंगल डे सेलको सुरुवात चिनमा सन् २००९ नोभेम्बर ११ को दिनबाट भएको थियो ।