विश्व अर्थतन्त्र ऋणको अत्यासलाग्दो दलदलमा फस्दै गएको छ । विश्वको कुल ग्राहस्थ उत्पादनको तुलनामा विश्वको ऋणको मात्राले यसअघिका सबै रेकर्ड तोड्दै नयाँ उचाइ हासिल गरेको छ । यो रेकर्ड वास्तवमा सन् २०१९ को नवौ महिनामै तोडिएको थियो । 

इन्स्टिच्यूट अफ इन्टरनेशनल फाइनान्सलाई उद्धृत गर्दै सिएनएन मनीले लेखेअनुसार सरकार, घरेलु स्रोत र विभिन्न कम्पनीबाट लिइएको उधारोको सम्मीश्रणको रुपमा रहेको विश्व ऋण सो अवधिमा ९ ट्रिलीएन डलरबाट बढेर झण्डै २५३ ट्रिलीएन अमेरीकी डलरको डरलाग्दो अवस्थामा पुगेको हो । जसको परिणाम स्वरुप जिडिपिको तुलनामा विश्व ऋण ३२२ प्रतिशत बढी पुगेको छ । जसले सन् २०१६ को रेकर्ड झिनो अन्तरले तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । 

अचाक्ली बढेको विश्वको यो ऋणमा सबैभन्दा बढि हिस्सा भने विकसित अर्थतन्त्र भएका अमेरिका र युरोपेली देशहरुले ओगटेका छन् । समग्रमा ती देशका जिडीपीको तुलनामा ऋणको अनुपात ३८३ प्रतिशत पुगेको छ ।  

विश्व ऋण बढ्नुमा विकसित देशहरु जस्तै न्यूजिल्याण्ड, स्वीट्जरल्याण्ड र नर्वे जस्ता विकसित राष्ट्रहरु मुख्य दोषीका रुपमा देखिएका छन् । यी देशहरुले आफ्नो घरेलु ऋणको मात्रा बढाएका छन् । जसको परिणाम विश्व अर्थतन्त्रमा पर्न गएको छ । उदाउँदो बजारमा भने ऋणको मात्रा कम रहेको छ । त्यहाँ जम्मा ७२ ट्रिलिएन ऋण रहेको छ । तर, पछिल्लो समयमा उदाउँदो बजारमा पनि ऋणको मात्रा बढेको पाइएको छ । चीनमा जीडीपीको तुलनामा ऋणको मात्रा ३१० प्रतिशत रहेको छ । जुन विकासोन्मुख देशरुमध्ये सबैभन्दा बढी हो । 

ठूलो परिमाणमा बढेको विश्व ऋणले विश्व अर्थतन्त्रलाई नै धरासायी बनाउनसक्ने इन्स्टिच्यूट अफ इन्टरनेशनल फाइनान्सको अध्ययनमा उल्लेख छ । यो अवस्था यसकारण डरलाग्दो छ कि सन् २०२० मा विश्व ऋण अझै बढ्ने अनुमान सो संस्थाको छ । उसको प्रक्षेपणअनुसार घट्दो ब्याजदर र बिग्रदो विश्व अर्थतन्त्रले सन् २०२० को पहिलो चौमासमा विश्व ऋण बढेर २५७ ट्रिलीएन डलर पुग्नेछ ।   

यससँगै अहिले विश्व अर्थतन्त्रले भोगिरहेको अर्काे मुख्य समस्या भनेको जलवायु परिवर्तन कम गर्न आर्थिक स्रोत जुटाउनु पनि रहेको अध्ययनमा उल्लेख छ । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्न संयुक्त राष्ट्रसंघलाई सन् २०३० भित्र ४२ ट्रिलिएन डलर चाहिनेछ । तर इन्स्टिच्यूट अफ इन्टरनेशनल फाइनान्सअनुसार सीमित ऋण लिनसक्ने देशका लागि भने यो लक्ष्य हासिल गर्न असम्भव झै हुनेछ ।